धनगढी। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्र रावल नियुक्त भएका छन्। एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राष्ट्रिय प्रजातन्त्र पार्टीका गरि २९ सांसदको समर्थनसहित उनले बुधबार अपरान्ह मुख्यमन्त्रीमा दाबी पेसगरेसँगै प्रदेश प्रमुख देवराज जोशीले रावललाई सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
रावललाई प्रदेश प्रमुख जोशीले संविधानको धारा १६८ को २ बमोजिम बुधवार मुख्यमन्त्री नियुक्त गरेका हुन्।उनले बिहीबार पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ। सुदूरपश्चिम प्रदेशसभाका ५३ जना सदस्यमध्ये २९ जना सांसदको हस्ताक्षरसहित रावलले बुधवार नै मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए। सुदूरपश्चिममा बहुमतका लागि २७ सिट आवश्यक पर्छ।
रावललाई माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एकजना प्रदेशसभा सदस्यले समर्थन गरेका छन्। केन्द्रमा सुदूरपश्चिम सरकारको नेतृत्व एमाले र माओवादीले पालोपालो गर्ने सहमति भएको थियो। सोही सहमतिअनुसार एमालेले मुख्यमन्त्री दावी गर्दा सभामुख माओवादीको भाग परेको छ। माओवादीको भागमा परेको सभामुखमा भीमबहादुर भण्डारीले उम्मेदवारी दर्ता गरी सकेका छन्। नेपाली कांग्रेसबाट पनि सभामुखमा मान बहादुर रावलले पनि उम्मेदवारी दर्ता गरेका छन्। यहाँ प्रदेश सरकारको नेतृत्व माओवादी र एमालेले साढे दुई/दुई वर्ष गर्ने सहमति भएको छ।