धनगढी।सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्र रावलले दाबी पेस गरेका छन्। नागरिक उन्मुक्तिले मुख्यमन्त्रीमा रावललाई अन्तिम समयमा आएर समर्थन गरेपछि रावलले प्रदेश प्रमुखको कार्यालयमा पुगेर दिउँसो ४ बजेर ५५ मिनेटमा मुख्यमन्त्रीको दाबी गरेका हुन्।
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा माओवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा लिएर एमाले संसदीय दलका नेता राजेन्द्र रावलले दाबी पेस गरेका छन्। उनले नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा प्रदेश प्रमुखसमक्ष दाबी पेस गरे।सत्ता साझेदर दलका प्रदेश सभा सदस्यहरूको हस्ताक्षरसहितको पत्र प्रदेश प्रमुखलाई बुझाएका थिए।
उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीसँग भएको सहमतिअनुसार उन्मुक्ति पार्टीका संसदीय दलका नेता रामेश्वर चौधरीले समर्थन गरेको बताए। मुख्यमन्त्रीको दाबी पेश गर्ने समय आज साँझ ५ बजेसम्म मात्र तोकिएको थियो। ५३ सदस्यीय प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली काँग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र स्वतन्त्र एक सांसद छन्। बहुमतका लागि यहाँ २७ जना सांसदको समर्थन भए पुग्छ।शपथ ग्रहण भोलि हुनेछ।