धनगढी। सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने समय सकिन लागेको छ । करिब १५ मिनेट मात्र बाँकी रहँदा नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरू पार्टीको दलको कार्यालयमा छलफल गरिरहेका छन्। उनीहरूले सत्ता गठबन्धनलाई समर्थन गर्ने नगर्ने भन्नेबारे निर्णय गर्न छलफल गरिरहेका हुन्।
प्रदेश सरकार गठनको निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टीले जेलमा रहेका आफ्ना नेता–कार्यकर्ता रिहाइको लिखित प्रतिबद्धता नगरेसम्म सत्ता गठबन्धनलाई समर्थन नदिने अडान लिएको छ।सत्ता साझेदार दल माओवादी र एमालेका अध्यक्षसँग रेशम चौधरीले टीकापुर घटनामा संलग्नका आरोपीतलाई जेलबाट रिहाई गर्ने लिखित प्रतिबद्धता मागेको नागरिक उन्मुक्ति पार्टीले जनाएको छ।केन्द्रमा भएको सहमतिको लिखित प्रतिबद्धता नआएसम्म प्रदेशबाट गठबन्धनलाई कुनै निर्णय गर्न नसकिने भन्दै नागरिक उन्मुक्तिका सांसदहरू केहीबेर अघिसम्म सम्पर्कविहीन भएका थिए।
लिखित सम्झौताका लागि रेशम चौधरीले नै प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेको प्रमुख सचेतक चौधरीले बताए। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा आज बेलुकी ५ बजेसम्म दाबी पेश गरिसक्नु पर्ने समयसीमा छ। सत्ता गठबन्धनलाई सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीको समर्थनबिना सरकार बनाउन सहज छैन। त्यसअनुसार नागरिक उन्मुक्ति पार्टीको समर्थन पाएमा एमालेबाट सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्रसिंह रावलले आजै प्रदेश प्रमुख समक्ष दाबी पेश गर्ने छन्। सुदूरपश्चिम प्रदेशमा शत्तारुढ गठबन्धनमा आबद्ध सबै दलले समर्थन दिए मात्रै मुख्यमन्त्रीमा दाबी पेश गर्न आवश्यक बहुमत पुग्ने छ। नागरिक उन्मुक्ति पार्टीले समर्थन नगरेको अवस्थामा माओवादी केन्द्र, एमाले र राप्रपासँग २२ जना प्रदेशसभा सदस्य मात्रै छन्। प्रदेशमा बहुमत जुटाउन २७ जना प्रदेशसभा सदस्य आवश्यक पर्छ। ५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा काँग्रेसका १९, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका७, एकीकृत समाजवादीका ४ तथा राप्रपा र एक जना स्वतन्त्र प्रदेशसभा सदस्य छन्।