बैतडी। बैतडीको डिलाशैनीस्थित एक विद्यालयमा ५ दिन देखि तालाबन्दी गरिएको छ। बैतडीको डिलाशैनी गाउँपालिका वडा नं ३ स्थित जनप्रिय आधारभूत विद्यालयमा ५ दिन देखि तालाबन्दी हुँदा पठनपाठन प्रभावित भएको हो। प्रधानाध्यापकले अनियमितता गरेको भन्दै अभिभावकहरुले गत शुक्रबार विद्यालयमा तालाबन्दी गरेका थिए।
विद्यालयका प्रधानाध्यापक गुणा बोहराले अनियमितता गरेको अभिभावकहरुको आरोप छ। तर प्रधानाध्यापक बोहराले आफुले अनियमितता नगरेको भन्दै आफु माथि झुटा आरोप लगाएको बताइन्। विगत पाँच देखि तालाबन्दी भएपनि ताला खोल्न सम्बन्धित निकायको ध्यान जान सकेको छैन्।गत शुक्रबार देखि अभिभावकहरुले विद्यालयमा तालाबन्दी गरेपछि विद्यालयमा पठनपाठन प्रभावित भएको शिक्षकहरुको भनाई छ।
तालाबन्दीले पठनपाठन अवरुद्ध भएपछि बालबालिका पढाईबाट बञ्चीत भएर समस्या परेका छन्। विद्यालयमा देखिएको समस्या समाधानका लागि गाउँपालिकाले समेत चाँसो नदेखाएको आरोप छ। पालिकाले विवाद समाधान नगर्दा विद्यार्थीहरु समस्यामा परेका छन्। डिलाशैनी गाउँपालिका वडा नं ३ वडा अध्यक्ष रघुबिर बोहराले भने तालाबन्दी खोल्नका लागि पहल गरिने बताएका छन् । पठनपाठन सुचारु गर्न आफुले आग्रह गरेपनि आन्दोलन कर्ताहरुले नमानेका उनको भनाई छ। उक्त विद्यालयमा कक्षा ५ सम्म पढाइ हुने गरेको छ।