काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गत पुस १० गते प्रधानमन्त्रीमा निुयुक्त भए। त्यसपछि उनले ८ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका छन् । एमालेसहितको ७ दलको समर्थनमा उनी प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । प्रचण्ड नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।
त्यस्तै संविधानको उपधारा (४) बमोजिम प्रधानमन्त्री प्रचण्डले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ। सोही प्रावधान अनुसार प्रधानमन्त्रीले आज संसदबाट विश्वासको मत लिँदैछन् । संसदको आजको कार्यसूचीबारे सभाअध्यक्ष पशुपति शमशेर जबराले प्रधानमन्त्रीको विश्वासको मत लिनेबारे सदनलाई जानकारी गराई सकेका छन्।
प्रधानमन्त्री प्रचण्डले पनि आफूलाई समर्थन गर्ने दलका साथै प्रतिपक्षी दल नेपाली काँग्रेसलाई पनि विश्वासको मत मागिसकेका छन् ।विश्वासको मत लिनका लागि प्रधानमन्त्री प्रचण्डले १३८ सांसदको समर्थन लिनुपर्ने हुन्छ।हिजो बसेको पहिलो संसद् बैठकमा प्रचण्डले सबै दलहरूसँग विश्वासको मत दिन अनुरोध गरेका थिए। साथै हिजो बेलुका नै उनले प्रमुख प्रतिपक्षी दलका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटी विश्वासको मत दिन अनुरोध गरेका थिए। यसभन्दा अगाडि उनले पुस २९ मा विश्वासको मत लिने बताइएको थियो।