बझाङ। बागलुङको सिद्धार्थ बैंकमा कार्यरत कमल पौडेलको टोली अघिल्लो साता खप्तड भ्रमणमा आयो। १५ दिन बिदा लिएर आएको टोलीले खप्तडमा एक हप्ता नै बस्ने योजना बनाएको थियो। आइतबार खप्तड पुग्नुभएका उहाँहरू दुई दिन नबस्दै फर्किए।
सोमबारको साँझ डोटीको झिग्रानामा उहाँहरू बास बसे। खप्तड घुम्ने समय छुट्याएको टोलीले डोटीको शैलेश्वरी हुँदै डडेल्धुराको उग्रतारा, कञ्चनपुरको शुक्लाफाँटा, दोधारा–चाँदनी, कैलालीको घोडाघोडी ताल हुँदै बर्दियाको ठाकुरद्वारा गएर बिदाको समय सके।खप्तडमा साता दिननै योजना बनाएर आउनुभएका उहाँहरूले खाने, बस्ने समस्या भएको भन्दै बसाइ छोट्याए। “सामाजिक सञ्जालमा खप्तडबारे धेरै नै जानकारी लिएका थियौँ”, पौडेलले भने, “तस्बिर तथा भिडियोमा खप्तडका सुन्दर फाँटहरू, ढकमक्कै ढाकेका सल्लादेखि समग्र खप्तडको सुन्दरता देखेर २ वर्षअगाडि नै खप्तड जाने सोच बनाएका थियौँ।
सबैको समय भने यो पटक मात्रै मिल्यो।” पौडेलका अनुसार खप्तड प्रकृतिले दिएको सुन्दरताबाहेक अन्य सुविधाको कमी छ। “खप्तड सोचेभन्दा सुन्दर छ, तर टिक्न भने एकै दिन पनि मुस्किल हुन्छ। खप्तडको सुन्दरता हेरेर चिसो तथा भोकमा टिक्न सकिँदैन उनले भने। खप्तड पुगेपछि पौडेलको टोलीलाई बास पाउनै हम्मेहम्मे भयो।“खप्तड पर्यटन क्षेत्र विकास समितिले बनाएको भवनमा २०/२५ जना मात्रै अटाउने रहेछन्”, उनले भने, “बाँकी बस्नलाई ठाउँ नै छैन। चिसो बढ्दै गयो। हामी त फर्किने सोचमा थियौँ। पछि पसलवालाले नेपाली सेनासँग आग्रह गरेर उहाँको पाहुना घरमा बस्यौँ।”