काठमाडौँ। नेपाली कांग्रेसले गत मंसिर ४ मा भएको चुनावबाट पहिलो पार्टी बनेपनि सरकार आफ्नो नेतृत्वमा गठन गर्न नसकेपछि पहिलो पटक पत्रकार सम्मेलन गरेको छ । कांग्रेसले पछिल्लो समयमा भएका राजनीतिक घटनाक्रमबारे जानकारी गराउन पत्रकार सम्मेलन गरेको हो।
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले अहिलेको सत्ता गठबन्धनलाई अवसरवादी भएको आरोप लगाएका छन् । गठबन्धनभित्र पदहरू मात्रै भएको तर भागवण्डा नमिलेको उनको भनाइ छ । साथै यो विशुद्ध पदपूर्ति गर्ने गठबन्धन भएको उनको आरोप थियो । अहिलेको गठबन्धन अवसरवादी हो । राजावादी, संविधानविरोधी, संघीयता विरोधी विभिन्न रूपको पार्टी मिलेर गठबन्धन बनेको छ । त्यहाँ पदमात्र छ । पदको भागवण्डा मिलेको छैन । यो विशुद्ध पदपूर्ति गर्ने गठबन्धन हो । गठबन्धनको आयु छोटिने सम्भवाना देखेका छौं, नेता महतले भनेका छन् ।
यस्तै उनले आफूहरू सशक्त प्रतिपक्षको भूमिकामा रहने पनि बताए । नेता महतले निर्वाचनअघिको कांग्रेस-माओवादी गठबन्धन कायम रहनेमा आफूहरू विश्वस्त रहेको तर पुष्पकमल दाहाल र माधव नेपालले धोका दिएको बताएका थिए। सरकार बनाउन छलफल भएको तर अन्तिम समयमा दाहालले छाडेर एमालेसँग गठबन्धन बनाएकोमा नेता महतले आपत्ति जनाएका थिए । उनले यसबारे विश्लेषण भइरहेको पनि बताए । साथै यसको परिणाम तथा असरबारे मूल्यांकन भइरहेको बताए । यद्यपि नेपाली कांग्रेस अहिलेको परिस्थितिबाट विचलित नभएको महतले बताएका छन् । साथै आफूहरूले वैकल्पिक समर्थन जुटाएर सरकार बनाउने प्रयास नगरेको पनि उनको भनाइ थियो ।