काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकालमा आफूले भाषण कम र काम धेरै गर्ने बताएका छन्। शनिबार चितवनको नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटन गर्दै उनले यसपटक भाषण कम गर्ने बताएका हुन्। चितवनको नारायणी नमूना माध्यमिक विद्यालयको हिरक महोत्सव समारोहलाई शनिबार सम्बोधन गर्दै उनले अर्थतन्त्रको सुधार र सुशासनको पक्षमा काम गर्ने बताएका हुन्।
मन्त्रिपरिषद्को पहिलो बैठकबाट नै अर्थतन्त्र सुधार लगायतका विषयमा कामको सुरुवात गरेको प्रधानमन्त्री दाहालको भनाइ थियो। प्रधानमन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला चितवन पुगेका दाहालले आफुले यो पटक हरेक दिन देश, जनता, सुशासन र विकासको पक्षमा काम गर्दै जाने बताए। नेपाल र नेपाली जनताको आवश्यकतालाई सम्बोधनभ गर्दै जाने प्रतिबद्धता लिएको छु। मेरो बाँकी जीवन सुशासन र विकासको निम्ति समर्पित गर्ने भनेर प्रतिबद्धता गरेको छु।
प्रधानमन्त्री दाहालले भाषण गर्नेभन्दा पनि काम गर्ने आफ्नो प्रतिज्ञा रहेको बताए। मैले यसपटक भाषण कम, काम र जनताको सेवा धेरै गरेर प्रस्तुत हुने प्रतिज्ञा गरेको छु, उनले भने । पहिलो मन्त्रिपरिषद्बाट देशको अगाडि रहेको अर्थतन्त्रमा सुधार र सुशासन कायम गर्नुपर्ने ऐतिहासिक आवश्यकताका क्षेत्रमा निर्णय लिएको उनले बताए। भ्रष्टाचार र बेथिति नियन्त्रण तथा जनताले विभिन्न ठाउँमा पाइरहेका सास्तिहरूलाई अन्त्य गर्ने निर्णय पनि पहिलो मन्त्रिपरिषद्बाट गरिएको उनले बताए। आगामी दिनमा पनि जनतालाई पिरमर्का पर्ने कुनै पनि निर्णय नगर्ने बताउँदै प्रधानमन्त्री दाहालले भने, सुशासन र समृद्धिको नयाँ युगको सुत्रपात गर्न एकजुट हौं भनेर अपील गर्न चाहन्छु ।