धनगढी। सुदूरपश्चिमाञ्चल प्रदेश सरकारका मुख्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट एक्कासी काठमाडौं गएका छन्। मुख्यमन्त्री भट्ट केन्द्रको राजनीतिक समिकरणपछि आज बिहान साढे १० बजे धनगढीबाट श्रीएअरको विमानमार्फत संघीय राजधानी काठमाडौं प्रस्थान गरेका हुन्।
हिजो दिउँसोबाट उत्पन्न नयाँ राजनीतिक परिस्थितिलाई आफ्नो पक्षमा पार्न उनी एकाएक बिहानै काठमाडौं गएको विश्लेषण गरिएको छ। यस्तै भट्ट पार्टी अध्यक्ष तथा निवनियुक्त प्रधानमन्त्रीसँग भेटेर बधाई दिन तथा आगामी दिनमा पनि प्रदेशको मुख्यमन्त्रीमा निरन्तरता दिन आफू इच्छुक रहेको सन्देश दिन काठमाडौं गएको बताइएको छ। उनका स्वकीय सचिव प्रेम कुँवर (प्रख्यात) ले मुख्यमन्त्री सहितका नेताहरु अहिले काठमाडौंमा रहेको जानकारी दिए।
उनले अहिले क्वार्टरमै रहेकाले नेताहरुसँग छलफल तथा भेटघाट गर्ने कार्यक्रम रहेको बताए। सुदूरपश्चिममा नेकपा माओवादीले सरकारको नेतृत्व लिनुपर्ने कुरामा पनि छलफल हुने उनको भनाई छ। भट्टले सुदूरपश्चिममा माओवादीको संसदीय दलको नेता सर्वसम्मत चयनका लागि पनि पहल गर्ने बताइएको छ।हिजो मात्रै केपी शर्मा ओलीको निवास बालकोटमा भएको सातदलीय छलफल तथा सहमतिपछि पुष्प कमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका छन्। उनको आजै ४ बजे शपथ ग्रहण कार्यक्रम पनि रहेको छ।