बैतडी। बैतडीको मेलौलीमा अस्पताल निर्माण गर्ने विषयमा विवाद हुँदा ३५ जना घाइते भएका छन्। बैतडीको मेलौलीमा आधारभूत अस्पताल निर्माणका विषयमा विवाद चर्किएपछि दुई पक्षबीच झडप हुँदा ३५ जना घाइते भएका हुन्। वडा नम्बर १ र ७ का स्थानीयबीच अस्पताल निर्माणका बिषयमा विवाद भएको हो।
केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र भएकै ठाउँमा १५ शैय्याको अस्पताल निर्माण गर्नुपर्ने भन्दै दबाब दिनका लागि वडा नं ७ का स्थानीय बासिन्दाले मंगलबार नगरपालिकामा तालाबन्दी गरेका थिए। त्यसका विरुद्धमा वडा नं १ का बासिन्दाले बुधबार नाराबाजी गरे। उनीहरुले वडा नं १ को बिट्ठेनीमा अस्पताल निर्माण हुनुपर्ने र त्यो कार्य नगरपालिकाले अगाडि बढाउनुपर्ने माग राखेका छन्।
बिहीबार दुवै पक्षले नाराबाजी गर्दा झडप भएको हो। झडपमा वडा नं ७ का २५ जना घाइते भएका छन् भने उनीहरुमध्ये १० जना जति उपचारका लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेका छन्। वडा नं १ को समूहले आफूहरुमाथि ढुंगामुढा प्रहार गरेको उनीहरुले आरोप लगाएका छन्।केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि वडा नं ७ का घाइतेमात्रै पुगेका बताइएको छ। वडा नं १ तर्फका १० जना घाइते भएको स्थानीय विजयसिंह नायकले बताए।
अस्पताल निर्माणका बिषयमा दुवै पक्षबीच झडप भएको र घाइतेको संख्या एकिन नभएको इलाका प्रहरी कार्यालय तस्सुदेहीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरीसहितको टोली मेलौलीका लागि हिँडेको बताइएको छ।अस्पतालको नाममा वडा नं १ र ७ दुवै ठाउँमा जमिन हुँदा कुन ठाउँमा बनाउने भन्ने विषय अहिलेसम्म सुल्झेको छैन। २०७० सालदेखि अस्पताल निर्माणको कुरा उठेपनि स्थानीयहरुबीच विवाद हुँदा अस्पताल निर्माणको काम अघि बढ्न सकेको छैन।अस्पतालकै विषयलाई लिएर दुवै पक्षले बेलाबेला नगरपालिकामा तालाबन्दी गर्दै आएका छन्। यता बैतडीको मेलौलीमा आधारभूत अस्पताल निर्माणका बिषयमा दुई पक्षबीच झडप भएपछि वार्ता र सम्वादबाट समस्याको समाधान खोज्न आग्रह गरिएको छ । मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्दले एक विज्ञप्ती जारी गर्दै समस्याको समाधानका लागि वार्ता र सम्वादबाटै अघि बढ्न आग्रह गरेका छन् ।