बैतडीमा शिक्षक हत्यामा संलग्न अभियुक्त सार्वजनिक गरिएको छ । बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर २ ग्वानी घर भई पाटनको कृष्ण माविमा पढाउँदै आएका शिक्षक धनबहादुर बिष्टको हत्यामा संलग्न श्रीमान, श्रीमतीलाई जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलन गर्दै बिहीबार अभियुक्त सार्वजनिक गरेको हो ।
बैतडीको पुर्चौडी नगरपालिका ३ न्वादेउ घर भएका प्रजा बोहरा र बिमला बोहरालाई प्रहरीले सार्वजनिक गरेको हो । उनीहरु दुवै जना श्रीमान–श्रीमति हुन् । कृष्ण मावीमा कम्प्युटर डिप्लोमा चौथो बर्षमा अध्यायन गर्दै आएकी बिमला कृष्ण मावि पाटनको छात्राबास बस्दै आएकी थिइन् ।
पौष १ गते राति शिक्षक बिष्टले बिमला बोहरामाथि अभद्र व्यवहार गरेको र त्यसको झोकमा उनका श्रीमान प्रजा बोहराले शिक्षक बिष्टलाई मुक्का हानेर ढलाएको प्रहरीको अनुसन्धानले देखाएको छ । पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले पौष १ गते साँझको समयमा बिमला बोहरा शौचालय जान्छु भनि बाहिर निस्केकी र ढिलो गर्दा प्रजा बोहराले खोजी गर्दा शिक्षक बिष्टले अँगालो हालेको देखेपछि प्रजा बोहराले शिक्षक बिष्टलाई मुक्का हानेर ढलाएको बताए । त्यसपछि प्रजाले उनको छाती र मुखमा हानेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।
घटना लुकाउनकै लागी बिष्टको शव दुर्वजना मिलेर छात्रबास पछाडी फालेको प्रहरी अनुसन्धानले देखाएको छ । अभियुक्तमाथी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक शाहीले बताए । जिल्ला अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान भइरहेको उनले बताए । घटनामा अरु संलग्नताका बिषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक शाहीले बताए ।
शिक्षक बिष्टको शव पौष २ गते दिउँसो फेला परेको थियो । मृतकका आफन्तले उनको हत्या भएको आशंका गरेपछि प्रहरीले घटनाको अनुसन्धान थालेको थियो । सो घटनाको अनुसन्धानका लागि सीआइबीको टोली समेत आएको थियो । शिक्षक बिष्टको हत्या भएकाले दोषी पत्ता लगाउन माग गर्दै आन्दोलन समेत गरिएको थियो ।