बैतडी। बैतडीको पाटनमा मृत अवस्थामा भेटिएका शिक्षक धनबहादुर विष्टको हत्या आरोपमा श्रीमान श्रीमती पक्राउ परेका छन्। सुर्नया गाउँपालिका –२ ग्वानी घर भई पाटनस्थित कृष्ण माविमा पढाउँदै आएका शिक्षक विष्ट बस्ने छात्रवासमै बस्ने एक युवती र उनका श्रीमान् पक्राउ परेका हुन्। कृष्ण माविमा कम्प्युटर डिप्लोमा अध्ययनरत पुर्चौडी नगरपालिकाकी विमला बोहरा र उनका श्रीमान् प्रजा बोहरालाई प्रहरीले पक्राउ गरेको छ।
उनीहरू श्रीमान–श्रीमती हुन्। दुवै जनालाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलनमार्फत उनीहरुलाई सार्वजनिक गर्ने तयारी गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले बताएको छ ।कृष्ण माविको छात्राबासमा बसेर अध्ययनरत युवती र उनका श्रीमानलाई सीआइबीको टोली आएपछि पक्राउ गरिएको थियो।
उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनीहरुको हत्यामा संलग्नता रहेको प्रहरीले पुष्टि गरेको छ ।शिक्षक बिष्ट सोही छात्राबासको माथिल्लो तलामा बस्दै आएका थिए। छात्राबासको तल्लो तलामा ती युवती आफ्ना भाइहरुसंगै बसेर पढ्दै आएकी खुलेको छ। घटना भएको दिन बिष्टले ती युवतीलाई बोलाएको र सोही बिषयमा विवाद हुँदा हत्या भएको खुलेको प्रहरीले जनाएको छ। शिक्षक बिष्ट पुस २ गते छात्राबासको पछाडि मृत अवस्थामा भेटिएका थिए । बिष्टको हत्या भएको भन्दै घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै सोही दिनदेखि पाटनमा आन्दोलन जारी रहेको छ। न्यायका लागि गठित संघर्ष समितिले आजपनी जिल्लाभरका विद्यालय बन्द गरेर आन्दोलनमा सहयोग गर्न भनेको छ। अहिलेसम्म मृतकका परिवारले विष्टको शव पनि बुझेका छैनन्।