बैतडी। बैतडीका शिक्षक मृत्यु प्रकरण घटनाको सत्यतथ्य छानबीनको माग गर्दै पाटन नगरपालिकामा तालाबन्दी गरिएको छ। बैतडीका शिक्षक धनबहादुर बिष्ट मृत्यु प्रकरणको सत्यतथ्य छानबीनको माग गर्दै आएको संघर्ष समितिले पाटन नगरपालिकामा तालाबन्दी गरेका छन्।
शिक्षक बिष्ट मृत फेला परेको ५ दिन बितिसक्दा समेत सत्यतथ्य पत्ता नलागेको भन्दै तालाबन्दी गरेका हुन्। संघर्ष समितिका संयोजक लिला बिष्टले घटनाको सत्यतथ्य छानबीनकालागि स्थानीय सरकारलाई दबाब दिन तालाबन्दी गरिएको बताइन् । उनले स्थानीय सरकार घटनाप्रति जवाफदेही नभएको रसरकारलाई दबाब दिन तालाबन्दी नगरपालिकामा गरेको बताइन्। संघर्ष समितिले मंगलबार आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।
सोही अनुरुप आज बिहानैदेखि दशरथचन्द राजमार्ग समेत अवरुद्ध पारेका छन्। यस्तै नगर क्षेत्रभित्रका विद्यालय र बजार बन्द रहेका छन्। पौष २ गते शनिबार पाटनमा मृत फेला परेका शिक्षक बिष्टको हत्या भएको परिवारजनले आशंका गरेका छन्। पौष १ गते एकजना शिक्षकको स्वागत भोजमा सरीक भएका सुर्नया २ ग्वानीका बिष्ट कृष्ण मावि पाटनमा अध्यापन गराउँदै आएका उनी भोलिपल्ट मृत अवस्थामा फेला परेका थिए।
आफन्तले मृत्यु नभइ हत्या भएको बताउँदै शव बुझेका छैनन्। प्रहरीले घटनाको सुक्ष्म तरीकाले अनुसन्धान भइरहेको जनाएको छ। मंगलबारदेखि सीआइबीको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले ४ जना शिक्षक र ७ जना विद्यार्थीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको बताएका छन्।