काठमाडौँ। नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासँग पराजित भएसँगै महामन्त्री गगन थापाले आफू भावी सरकारमा सामेल नहुने बताएका छन् । भविष्यमा संसदीय दलकै नेता बन्ने तयारीमा केन्द्रित हुने अभिव्यक्ति दिएका छन्।
संसदीय दलको नेता चयनको मतपरिणाम सार्वजनिक भए लगत्तै पत्रकारहरुसँग कुराकानी गर्दै उनले आफ्नो समूहलाई थप मजबुत बनाउँदै लैजाने र सरकारमा आफू सामेल नहुने स्पष्ट पारे। कांग्रेसको नेतृत्वमा सरकार बन्यो भने अरु साथीहरु जानु हुन्छ । कांग्रेसको संसदीय दलको नेता परिवर्तन हुनुपर्छ भन्ने मेरो सोच हो म त्यसमा लागिरहन्छु, उनले भने, म कांग्रेसको महामन्त्री पनि हुँ र सांसद पनि हुँ । त्यही रुपमा आफूले गर्नुपर्ने काम गरिरहन्छु ।उनले भने, ‘सरकारमा अरु साथीहरू जानुहुन्छ । म त फेरि संसदीय दलको नेता हुन कोसिस गर्छु । योभन्दा बाहेक सरकारमा जाने अहिले गर्नु हुन्न, म गर्दिनँ ।’उनले अहिले आफू सरकारमा सामेल हुनु उपयुक्त नहुने पनि बताए।