काठमाडौँ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका छन्। प्रज्ञाभवन कमलादीमा मंगलबार बसेको संसदीय दलको बैठकले अध्यक्ष ओलीलाई सर्वसम्मतरूपमा दलको नेतामा चयन गरेको सांसद महेश बर्तौलाले जानकारी दिए।
ओलीलाई दलको नेतामा निर्वाचित गर्नका लागि उपाध्यक्ष विष्णु पौडेलले प्रस्ताव र उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले समर्थन गरेका थिए। बैठकले मतदाताहरुलाई धन्यवाद र निर्वाचनको क्रममा मृत्यु भएका एमाले कार्यकर्ताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनाको भर्त्सना गरेको सांसद बर्तौलाले बताए । उनका अनुसार मृतकका परिवारलाई राहत दिन सरकारसँग माग गर्ने बैठकले निर्णय गरेको छ ।गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा एमालेले प्रत्यक्ष ४४ र समानुपातिकतर्फ ३४ गरी ७८ सिटमा जित हात पारेको छ । प्रत्यक्षतर्फ दोस्रो स्थानमा रहेको एमाले समानुपातिकतर्फ भने पहिलो दल बनेको थियो । एमालेले समानुपातिकतर्फ पहिलो दल बन्दै २८ लाख ४५ हजार ६ सय ४१ मत प्राप्त गरेको थियो ।