बैतडी। बैतडीमा शिक्षक धनबहादुर बिष्ट मृत्यु प्रकरणबारे अनुसन्धान गर्न सीआइबीको टोली बैतडी पाटनमा पुगेको छ । सुर्नया गाउँपालिका २ ग्वानी घर भई कृष्ण माविमा अध्यापन गराउँदै आएका शिक्षक धनबहादुर बिष्ट गएको शनिबार दिउँसो मृत अवस्थामा फेला परेका थिए।
घटना अनुसन्धानका लागि प्रहरी नेतृत्वमा रहेको केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी) को टोली पाटन पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । टोलीले घटनाको अनुसन्धान शुरु गरिसकेको उनले बताए। ४ जना शिक्षक र ७ जना विद्यार्थीलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले श्रोतले जनाएको छ। अनुसन्धानका लागि केही मानिसलाई नियन्त्रणलाई लिएर सोधपुछ भइरहेको प्रहरी निरीक्षक खत्रीले बताए।
यद्यपि कसलाई नियन्त्रणमा लिएको हो भन्ने कुरा प्रहरीले सार्वजनिक गरेको छैन् । शिक्षक बिष्टको हत्या भएको परिवारजनले आशंका गरेर अहिले सम्म शव बुझ्न मानेका छैनन् । यद्यपि शवको पोष्टमार्टम भने गरिसकिएको छ । कृष्ण माविमा एकजना शिक्षकले आयोजना गरेको स्वागत भोजमा सरीक भएका शिक्षक बिष्ट भोलि पल्ट छात्रवास पछाडि मृत अवस्थामा फेला परेका थिए। शिक्षक बिष्टको हत्या भएको भन्दै सोमबारदेखि जिल्लामा आन्दोलन चर्किएको छ । आज पनि विद्यार्थी र मृतकका आफन्तहरुले जिल्लाका विभिन्न स्थानमा प्रर्दशन गरेका छन् दशरथचन्द राजमार्ग अवरुद्ध गरेका छन् । मृतकका आफन्त तथा विद्यार्थीहरुले इलाका प्रहरी कार्यालय अगाडि प्रर्दशन गर्दै दोषी पत्ता लगाई कारवाही गर्नुपर्ने माग गरेका छन् ।