बैतडी। बैतडीमा शिक्षकको मृत्यु भएको भन्दै विभिन्न ठाउँमा प्रदर्शन गरिएको छ। स्थानीयबासी तथा विद्यार्थीहरुले बैतडीको पाटनमा शिक्षक धनबहादुर बिष्ट मृत फेला परेको घटनाको निष्पक्ष छानबीनको माग गर्दै दशरथचन्द राजमार्ग अवरुद्ध गराएका छन्। बैतडीका विभिन्न ठाउँमा स्थानीयबासी र विद्यार्थीहरुले प्रर्दशन गरेका हुन्।
शिक्षक बिष्टको मृत्यु नभइ हत्या गरिएको भन्दै परिवारजनले आशंका गरेका छन् । हिजो सोमबारदेखि आन्दोलनका कार्यक्रम अनुसार बैतडीको खोड्पेमा स्थानीयहरुले एकघण्टा बजार बन्द गराएका छन्। शिक्षक बिष्टको न्यायका लागि प्रर्दशन गरेका छन्। राजमार्ग अवरुद्ध गरेर उनीहरुले दोषीको खोजी गरी कारवाही हुनुपर्ने माग गरेका छन्।
यस्तै जिल्लाको सतबाँझ, सिउडे, ठाँड, पाटन लगायतका क्षेत्रमा स्थानीय र विद्यार्थीहरुले टायर बालेर सडक अवरुद्ध गर्दै प्रर्दशन गरेका छन्। शिक्षक बिष्टको हत्या भएको भन्दै दोषीको पहिचान गरी कारवाही हुनुपर्ने माग राखेका छन्।गएको शनिबार कृष्ण माविको छात्रबास पछाडि भिरालो ठाउँमा शिक्षक बिष्टको शव फेला परेको थियो। शवको पोष्टमार्टम गरिएको भएपनि आफन्तहरुले अझै शव बुझेका छैनन्। मृतकका परिवारले भवितव्य मृत्यु नभइ हत्या भएको भन्दै दोषीको पहिचान नहुँदा सम्म शव नबुझ्ने अडान लिएका छन्।प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको जनाएको छ।