कञ्चनपुर। कञ्चनपुरको अर्जुनी ब्यारेक नजिकै मोटरसाइकल दुर्घटना भएको छ। कञ्चनपुरको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत शुक्लाफाँटा नगरपालिका–५ अर्जुनी ब्यारेक नजिक भर्खरै मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको हो। से ७ प २८४२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा कृष्णपुर ९ का २४ वर्षीय हरिश ऐरको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी निरीक्षक भरत गिरीले अर्जुनी ब्यारेक नजिकको घासे मैदानस्थित सडकमा दुर्घटना भएको बताए। आफैँ अनियन्त्रित भएर मोटरसाइकल सडक भन्दा १५-२० मिटर टाढा खसेको उनले बताए। पोष्टमार्टमकालागी उनको शव महाकाली प्रादेशिक अस्पतालमा लगीएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएकोे छ।