दार्चुला। दार्चुला शैल्यशिखरको एक बिद्यालयमा शिक्षकको माग गर्दै विद्यार्थीहरूले तालाबन्दी गरेका छन्। दार्चुला शैल्यशिखर नगरपालिका–६ मिलमिलीमा मालिकार्जुन माध्यमिक विद्यालयमा विद्यार्थीहरूले शिक्षकको माग गर्दै तालाबन्दी गरेका हुन्। लामो समयदेखि विद्यालयमा शिक्षक नहुँदा पढाइमा समस्या भएपछि विद्यार्थीहरू तालाबन्दीमा उत्रेका हुन् ।
विषयगत शिक्षकहरू नभएकाले पटक–पटक शिक्षक पदपूर्तिको माग गर्दासमेत सुनवाइ नभएपछि तालाबन्दी गर्नुपरेको १० कक्षामा अध्ययनरत छात्रा रन्जना धामीले बताएकी छिन्। सुरुमा पुस्तक नपाइएको र अहिले आएर शैक्षिकसत्रको आधा समय बितिसक्दा विद्यालयमा शिक्षक नभएको उनले बताइन्। अति भएर यो कदम चाल्नुपरेको उनको भनाई छ। गत वैशाखमा विद्यालयमा कार्यरत ४ शिक्षक र एक बालविकास सहयोगी हटाइएको थियो । तर, रिक्त पदपूर्ति गर्न नगरपालिकले चासो नदिएको अभिभावक रामसिंह धामीले आरोप लगाएका छन् ।
८ महिनादेखि विद्यालयमा विषयगत शिक्षकनभएको र शिक्षक पदपूर्ति गर्न पटक–पटक आग्रह गरिसक्दा समेत अहिलेसम्म कुनै सुनुवाइ नभएको उनले बताए ।गत वैशाखमा भएको स्थानीय निर्वाचनपछि आएको नगरको नयाँ नेतृत्वले करार शिक्षकको अवधि थप नगर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार यहाँका पनि करार शिक्षक हटाइएका थिए । नयाँ शिक्षक भर्ना नगरेकाले विद्यालयमा शिक्षक अभाव भएको र विद्यार्थीको पढाइसमेत प्रभावित भएको विद्यालयका प्रधानाध्यापक वीरसिंह खातीले बताएका छन् । भएका शिक्षक हटाउने तर नयाँ नथप्ने नेतृत्वले विद्यार्थीहरूको भविष्यमाथि नै खेलबाड गरेको अभिभावकको गुनासो रहेको उनले बताएका छन्।