कैलाली। कैलालीको टीकापुरमा माघ ४ देखी महोत्सव २०७९ लाग्ने भएको छ। टीकापुर उद्योग वाणिज्य संघले आज पत्रकार सम्मेलनको आयोजना गरी महोत्सव माघ ४ गतेदेखी १५ गतेसम्म सञ्चालन हुने जानकारी दिएको छ ।संघले महोत्सव सफलतापूर्वक सम्पन्न गर्न मूल समारोह समिति र विभिन्न उपसमिति समेत गठन गरेको छ।
संघका अध्यक्ष चक्रपाणी सापकोटाको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ। मूल समारोह समितिमा संघका पदाधिकारीहरु सदस्य रहेका छन। त्यस्तै निवर्तमान अध्यक्ष रामबहादुर भण्डारीलाई महोत्सव व्यवस्थापक चयन गरिएको छ। महोत्सव सम्पन्न विभिन्न १५ वटा उपसमिति समेत गठन गरिएको मूल समारोह समितिका संयोजक सापकोटाले जानकारी दिए। जसअनुसार अतिथि सत्कारमा उपाध्यक्ष सन्तोष खड्का, आर्थिकमा उपाध्यक्ष कृष्ण उपाध्याय बजगाई, साँस्कृतिकमा सचिव तपेन्द्र कुँवर र छपाईमा कोषाध्यक्ष लोकेश साउँद संयोजक रहेका छन।
अन्य समितिहरुका संयोजक पनी रहेका छन् ।मूल समारोह समितिका संयोजक सापकोटाले महोत्सव सफल पार्न सबैलाई सक्दो सहयोगका लागि आग्रह गरेका छन । विगत दुई वर्ष कोरोनाका कारण महोत्सव हुन सकेको थिएन । यो वर्ष महोत्सवमा स्थानीयको समेत सकृय सहभागिता रहने संघले विश्वास गरेको छ। संघले महोत्सवले यस क्षेत्रको ब्यापार व्यवशायमा टेवा पुग्नुका साथै कला संस्कृतिको समेत प्रचारप्रसार हुने बताएको छ । महोत्सवमा स्थानीय र राष्ट्रिय कलाकारहरुको प्रस्तुती समेत रहनेछ । संघले महोत्सवमा करिव २५० स्टल रहने बताएको छ । ती स्टल बुकिङका लागि खुल्ला गरिएको समेत संघले जानकारी दिएको छ ।