बैतडी । बैतडीमा युवतीको हत्या आरोपमा फरार रहेका सशस्त्र प्रहरी जवान पक्राउ परेका छन्। बैतडीको पञ्चेश्वर गाउँपालिका ४ फ्याउलीकी २१ वर्षीया माया लुहार प्रकरणका आरोपी महेन्द्रनगरबाट पक्राउ परेका छन् । मायाको हत्या गरेको अभियोगमा शिवनाथ गाउँपालिका- ४ का भरतराम कोली महेन्द्रनगरबाट पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) मोहनकुमार आचार्यले कोली महेन्द्रनगरबाट पक्राउ परेको पुष्टि गरे। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक पुष्कर पन्तले आइतबार बिहान महेन्द्रनगर बजारमा डुलिरहेको अवस्थामा कोलीलाई पक्राउ गरिएको जानकारी दिए । २२ वर्षीय कोली हुल तथा दंगा तालिम व्यवस्थापन शिक्षालय पोखरामा सशस्त्र प्रहरी जवानका रूपमा कार्यरत थिए।
प्रहरी निरीक्षक पन्तले पक्राउ परेका कोलीलाई बैतडी प्रहरीलाई बुझाइने बताए। माया गत बुधबार शिवनाथ गाउँपालिकामा घाँटी रेटेको अवस्थामा मृत भेटिएकी थिइन । पक्राउ परेका कोली र माया प्रेम सम्बन्धमा रहेको बुझिएको बताउँदै प्रहरीले घटनाबारे अनुसन्धानपछि मात्र थप कुरा खुल्ने जनाएको छ।भरत र मायाको पहिलादेखि नै फोन सम्पर्क भइराख्ने खुल्न आएको छ । ५ दिन देखि प्रहरी उनको खोजीमा थियो। प्रेमसम्बन्धमा रहेका माया र भरतको बिहे गर्ने समेत तयारी थियो । माया हालै सम्पन्न निर्वाचनमा म्यादी प्रहरीसमेत रहेकी थिइन् । प्रहरीले घटनास्थलबाट मायाको मोबाइल, चक्कुलगायत सामग्री बरामद गरेको थियो । मायासँगै रहेकी उनकी भदै नेहा घाइते छिन। उनको डडेल्धुरास्थित अस्पतालमा उपचार भइरहेको छ। परिवारले शिवनाथ गाउँपालिका–४ का कोलीले हत्या गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएका थिए।
बैतडी माया हत्या प्रकरणः आरोपित सशस्त्र प्रहरीका जवानलाई खोजी गर्दै प्रहरी !