धनगढी। बैतडीको विकट डिलाशैनी गाउँपालिकाबाट पढाईको धोका पूरा गर्न धनगढी आउँदा चेतना साउँदको लक्ष्य ठूलो भएर नर्स बन्ने थियो । गाउँका दिदीहरु पनि नर्स थिए । अस्पताल जादा होस् या सामाजिक सञ्जालमा नर्सले चिटिक्क सेतो लुगा लगाएर बिरामीको सेवा गरेको उनले देखेकी थिइन्। त्यही भएर उनले सोचेकी थिइन्, ‘ठूलो भएर म पनि यस्तै नर्स बन्छु, अनि बिरामीको सेवा गर्छु ।’
चेतना साउँद धनगढी उपमहानगरपालिका ५ तारानगरमा परिवारसँगै बस्थिन। नजिकैको पञ्चोदयमा माध्यामिक विद्यालयमा कक्षा ८ कक्षामा अध्ययनरत् थिइन् । पढाई सन्तोषजक थियो । तर बिहीबार बिहानको एक ग्रेडरले उनीसँगै उनको नर्स बन्ने सपना पनि कुल्चिदियो। ‘सबै शिक्षक तथा साथीभाईसँग मिलनसार व्यवहार गर्थिन,’ शिक्षक सुरेन्द्र जोशीले निराशभावमा धनगढीखबरसँग भने, ‘के बन्ने भन्दा ‘नर्स’ भन्थिन । समयमै गृहकार्य पनि गर्थिन । तर के गर्ने राम्रो मान्छेलाई धर्तीमा ठाउँ हुँदैन भन्थे आज त्यस्तै लागिरहेको छ।
उनको मृत्युको खबर पत्याउँनै सकिरहेको छैन। उनी आँखा वरिपरि घुम्दैछिन्।’ घरबाट विद्यालय नजिकै पुगेकी थिइन । हसनपुर डिभोटीचोक देखि हसनपुर पिपल्लचौतारा सड्क निर्माणमा क्रममा प्रयोग भएको ग्रेडरले सुरुमा उनलाई ठक्कर दियो । उनी उठ्ने प्रयासमा रहँदारहँदै ग्रेडरले कुल्चिएको स्थानीय बताउँदै आएका छन्। घटनास्थलमै उनको ज्यान गयो । त्यसबाट आक्रोशित विद्यार्थी र स्थानीयले बाटो बन्द गर्दै नाराबाजी गरेका थिए । विद्यार्थीहरु धनगढी बजार, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय कैलाली अगाडि समेत आन्दोलनमा उत्रिएपछि धनगढीमा निषेधाज्ञा नै घोषणा गर्नुपरेको छ ।शुक्रबार दिउँसो भने आफन्त र प्रशासनबीच सहमति भएको छ । आफन्तले ग्रेडर चालकविरुद्ध सवारी ज्यान मुद्दा दर्ता गराएका छन्। प्रहरीलेघटनाको अनुसन्धान अगाडि बढाएको छ।