बैतडी। बैतडीको पञ्चेश्वर गाउँपालिका ४ की माया लुहार हत्यामा संलग्न आरोपीत अझै पक्राउ परेका छैनन् । मृतकका परिवारले भरतराम कोलीको नाममा किटानी जाहेरी दिएका भएपनि उनी अहिले सम्म पक्राउ नपरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले फरार रहेका आरोपितको खोजी कार्य जारी भैरहेको बताए।
आरोपीत शिवनाथ गाउँपालिका ४ घर भएका कोली सशस्त्र प्रहरीका जवान समेत रहेका बुझिएको छ। मायासंग पहिलादेखि फोनमा कुराकानी गर्ने गरेका कोलीले नै मायाको हत्या गरेको पारिवारजनले दाबी गरेका छन्। केही दिन पहिला कोलीले मायाको फोन खोसेको र त्यसपछि बोलाएर हत्या गरेको परिवारले आरोप लगाएको छ। गएको मंगलबार घरबाट लुगाउन सिलाउ जान्छु भनि पञ्चेश्वर गाउँपालिका ३ कुलाउतिर आफ्नी भदै सहित हिँडेकी माया बुधबार शिवनाथ मन्दिर नजिकै मृत फेला परेकी थिइन्।
उनको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो। उनकी भदै १५ बर्षीया नेहा लुहार घाँटी रेटेर घाइते अवस्थामा फेला परेकी थिइन्। नेहाको अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। घटना भएकै दिनदेखि अनुसन्धान जुटेको प्रहरीले मृतक मायाको मोबाइल भने फेला पारेको जनाएको छ । घटना भएको ठाउँभन्दा एक घण्टाको पैदल दुरी पञ्चेश्वर ४ मा मृतकको मोबाइल फेला परेको र मृतकको मोबाइल फेला परेकाले त्यसबाट पनि अनुसन्धानमा सहज हुने उनले बताए । मोबाइलमा भएका कुराको अनुसन्धान गरिने जोशीले बताएका छन्।