काठमाडौं । यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार पाचौं खेल जितेको छ र यो जीतसँगै सुदूर फाइलनमा पुगेको छ । त्यसक्रममा सुदूरले मधेश प्रदेशलाई ७ विकेटले सजिलै हराएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको मधेश प्रदेश ३८.१ ओभरमा १२२ रनमा अल आउट भएको थियो । १२३ रनको विजयी लक्ष्य पछ्याएको सुदूरले १८.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । सुदूरको जितमा दीपक बोहराले ५८ बलमा ६ चौका २ छक्कासहित सर्वाधिक ५३ रनको अर्धशतकीय पारी खेले। अर्का ओपनर दीपक बोहरा २४ बलमा ६ चौकासहित २४ रनमा आउट भए ।
गजेन्द्र बोहरा १० बलमा २ चौका र २ छक्कासहित २४ रन र अनुराग सिंह २ रनमा अविजित रहे। विकेटकिपर सुनिल चन्द १७ बलमा १ चौका र १ छक्कासहित ११ रनमा आउट भए । मधेशका अभिषेक तिवारीले सर्वाधिक दुई विकेट लिए । त्यसअघि, ब्याटिङ गरेको मधेशका लागि अनिल अन्सारीले ५६ बलमा ५ चौकासहित सर्वाधिक ३२ रन बनाए । तीव्र गतिका बलर हेमन्त धामीले आफ्नो उच्च लयलाई निरन्तरता दिँदै पुनः शीर्षक्रम धरासयी बनाए । हेमन्तले ओपनर शैलेन्द्र शाहलाई ० मा र तेस्रो नम्बरका ब्याटर डब्लू मलिकलाई ११ रनमा बोल्ड गरेका थिए।
हेमन्तले नै ओपनर मयन यादवले २३ लाई रनमा क्याच गराए। चौथो नम्बरका ब्याटर इमरान शेख ३८ बलमा ५ चौकासहित २८ रनमा नरेनको बलमा बोल्ड भए । त्यसपछि अन्य कुनैपनि ब्याटरले सम्झन लायक रन बनाउन सकेनन्। सुदूरका नरेन साउदले ९.१ ओभरमा १ मेडनसहित २४ रन खर्चेर ५ विकेट लिए । पहिलो खेल खेलेका युवराज खत्रीले ९ ओभरमा १ मेडनसहित १५ रन खर्चेर २ विकेट लिए । हेमन्त धामीले ६ ओभरमा १ मेडनसहित २७ रन खर्चेर ३ विकेट लिए । सुदूरपश्चिमप्रदेशले अन्तिम खेलमा शुक्रबार बागमतीसँग खेल्नेछ। सुदूरपश्चिम ५ खेलमा १० अंकका साथ शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको बागमती ४ खेलमा ८ अंकका साथ दोस्रो स्थानमा छ । लुम्बिनी ३ खेलमा ४ अंकका साथ तेस्रो स्थानमा छ । शीर्ष दुई टोलीले मंसिर १९ गते फाइनल खेल्नेछन् ।