डडेल्धुरा। निर्वाचनका लागी प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा सुरक्षा व्यवस्था कडा बनाइएको छ। आईतबार तथा मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलक्षित सुरक्षाका लागि देउवाको गृहजिल्ला डडेल्धुरामा दुई हजार बढी सुरक्षाकर्मी परिचालन गरिएका छन् ।
प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीलाई निर्वाचनका लागि परिचालन गरिएको बताए । उनले तीन वटा घेरा बनाएर सुरक्षा व्यवस्थामा मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र अन्तिम घेरामा सेनाले सुरक्षा दिइरहेका जानकारी दिए । उनले निर्वाचनका लागि मोबाइलटोली र रिजर्भ टोली परिचालन गरिएको बताउँदै आवश्यकता अनुसार मात्रै परिचालन बताए ।
डडेल्धुरामा १०१ मतदानस्थलमध्ये २३ अति संवेदनशील, ४१ संवेदनशील र ३७ सामान्य रहेका छन् । जिल्लाका सबै मतदान केन्द्रमा निर्वाचन सामाग्री र सुरक्षाकर्मीसहितका कर्मचारी पुगिसकेका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले बताए । डडेल्धुरामा प्रतिनिधिसभातर्फ प्रधानमन्त्री देउवासहित ८ जना र दुई प्रदेशसभातर्फ १२ जना उमेदवार रहेका छन् । कर्मचारी मतदान केन्द्रमा पुगेर सर्वदलीय बैठक बसेर बुथ निर्माणको कार्य पनि सुरु भइसकेको र भोलिसम्म सबै तयारी पूरा हुने उनले जानकारी दिए । एउटा मतदान केन्द्रमा म्यादी प्रहरीसहित सातदेखि १२ जना सुरक्षाकर्मी र आठजना कर्मचारी खटाइएको छ ।