बैतडी। बैतडी कांग्रेसबाट १२ जना नेता तथा कार्यकर्तालाई निष्कासित गरिएको छ । नेपाली कांग्रेस बैतडीले पार्टीको अनुशासन उल्लंघन गरेको, बागी उम्मेदवारलाई सहयोग गरेको र पार्टीको हित विपरीत काम गर्नेहरुलाई साधारण सदस्य समेत नरहने गरेर निष्कासन गरिएको जनाएको छ ।
कांग्रेसको अनुशासन समिति बैतडीका संयोजक देवराज जोशीका अनुसार ६ जनालाई पार्टीको केन्द्रिय कार्यालयले कारवाही र ६ जनालाई जिल्ला अनुशासन समितिले कारवाही गरेको बताए ।पार्टी निर्णय विरुद्ध ‘बागी’उम्मेदवारी दिएका केशवबहादुर चन्द र हरिमोहन भण्डारी, उनका समर्थक र प्रस्तावकलाई केन्द्रिय कार्यालयले पार्टीबाट निष्कासन गरेको उनले बताए ।
जिल्लामा पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध लागेकाहरुलाई जिल्लाले कारवाही गरेको हो। पाटन नगरसभापति मानबहादुर ऐर, सिगास गाउँ उपसभापति धनबहादुर साउँद, दलित संघ अध्यक्ष रमेश कोली, महिला नेतृ सरस्वती कोली, पाटन नगर सहसचिव कृष्णा पन्त लगायतलाई पार्टीबाट कारवाही गरिएको जोशीले बताए। निर्वाचनको समयमा पार्टीका उम्मेदवार विरुद्ध लाग्ने, पार्टीको निर्णय नमान्नेहरुलाई साधारण सदस्य समेत नरहने गरेर कारवाही गरिएको जोशीले बताए । यस्तै पार्टीका उम्मेदवार विरुद्ध लागेका र पार्टीको विधान विपरीत लागेका केही नेता कार्यकर्ताहरुलाई स्पष्टीकरण सोधिएको छ। कति जनालाई स्पष्टीकरण सोधिएको भन्ने बिषयमा कांग्रेसले उल्लेख गरेको छैन् ।