धनगढी, : तपाईहरु को को तेक्वान्दो खेल्न चाहानुहुन्छ?
कक्षा ८ मुनिका एक हुल विधार्थीका अघि सोमबार कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टले प्रश्न गर्दा झण्डै आधा बढी विधार्थीको हात उठ्यो । धनगढी हसनपुरस्थित ब्राइट वे पब्लिक स्कुलमा तेक्वान्दो डोजाङका उद्घाटनमा पुगेका थिए विष्ट ।
दक्षिण एसियाली खेलकुद(साग)मा लगातार चार स्वर्णपदक जित्दै कीर्तिमान रचेका यी लिजेन्ड खेलाडी स–सना विधार्थीहरुसँग आफ्नो सुरुवात सम्झेर नोल्टाल्जिक बने । ‘म पनि कञ्चनपुरमा जन्मेको । तेक्वान्दो खेल्न धनगढी आए,’ दीपकले एकै श्वासमा आफ्नो खेल जीवन सम्झिए, ‘तेक्वान्दो खेल्दाखेल्दै काठमाडौं गए । नेशनल खेले, ओलम्पिक खेले, साग खेले, एसियन गेम्स खेले र आज दीपक विष्ट बनेर तपाईहरुको अगाडि आएको छु ।’
दीपकले सागमा लगातार चार स्वर्ण जितेर सनसनी मच्चाएको होइन । उनले विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा पनि सहभागिता जनाए । २००८ को बेइजिङ ओलम्पिकमा दीपकले नेपालको झण्डा उठाएका थिए । विष्टको सफलता त्यही खुम्चिँदैन । उनले एसियन गेम्समा पनि दुई कास्यपदक जित्दै देशको शीर उचो बनाएका छन् । आमन्त्रित खेल त उनले जितेका स्वर्णपदकको कुनै गन्ती छैन ।
दीपकले विधार्थीलाई सोधिहाले कसका लागि जिते?
विधार्थीले एकै स्वरमा भने, ‘देशका लागि’
‘त्यसपछि सुदूरपश्चिम, आफ्नो ठाउँ, आफ्नो स्कुलका लागि जिते’ दीपक जन्मथलोप्रति कृतज्ञ देखिए ।
खेलाडी हुँदै प्रशिक्षक बनिसकेका दीपक एक समय नेपाल तेक्वान्दो संघका केन्द्रीय सचिव समेत थिए । पछि राष्ट्रिय प्रशिक्षकहरु खेल संघमा बस्न नपाउँने नियमपछि उनले खेल प्रशासन छोड्नुपर्यो । तरपनि तेक्वान्दोको विकासका लागि उनी पूर्व देखि पश्चिमसम्म निरन्तर सक्रिय भएर लागेका छन् ।
जन्मथलोमा तेक्वादो खेल विकासमा झनै उनको योगदान विशेष छ । काम विशेषले धनगढी आएका उनी सोमबार दिनभर तेक्वान्दोकै काममा व्यस्त थिए । बिहान सुदूरपश्चिम तेक्वान्दो संघका अध्यक्ष सुवास शाहीलगायत पदाधिकारीहरुसँग भेटघाट गर्दै यहाँको तेक्वान्दो विकासबारे घोत्लिएका विष्ट, दिउँसो तेक्वान्दो डोजाङको उद्घाटनमा पुगेका थिए ।
आधाबढी कलिला नानीबाबुहरुले तेक्वान्दो खेलाडी बन्ने भन्दै उनको प्रश्नमा हात उठाएपछि प्रफुल्लित भएका विष्ट झनै नोल्टाल्जिक बने ।
‘सानो छँदा मलाई खेल्न मन लाग्थ्यो तर खेल्ने ठाउँ थिएन् । गुरु थिएन । हौसला दिने कोही थिएन । हामी भागीभागी चोरीचोरी खेल्छौं । एकघण्टा साइकल चढेर खेल्न आउँथ्यौं,’ विष्टले सम्झिए, ‘ आज स्कुलमा तेक्वान्दोको डोजाङ नै उद्घाटन भएको छ । तपाईहरुको आगनमा अवसर छ । अब मेरो इतिहासलाई ब्राइट वे तेक्वान्दो डोजाङको खेलाडीहरुले तोड्नुपर्छ ।’
दीपकले खेलले अनुशासन, समर्पण सिकाउने भएकाले सबैले खेलमा भाग लिनुपर्ने सुझाव दिए । तेक्वान्दोले आत्मसुरक्षा गर्न, आत्मविश्वास बढाउँन तथा स्वस्थ्य हुन सहयोग पुर्याउँने उनले बताए ।
इन्टरनेसनल स्कुल अवार्ड प्राप्त धनगढीको ब्राइटे स्कुलकाप्रिन्सिपल कुवेरजित साउँदले विधार्थीहरुलाई स्वस्थ बनाउँनका लागि पनि खेलकुद आवश्यक रहेकाले विद्यालयमै डोजो स्थापना गरिएको बताए ।
‘स्वस्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने सरकारको नीति नै छ । पढाईका लागि खेलकुद अनिवार्य हो,’ साउँदले भने, ‘खेलकुदले बालबालिकाहरुको शरिरिक र मानसिक वृद्धिविकासमा सहयोग पुर्याउँछ । स्वस्थ मनस्थितिले मात्रै पढाईमा अब्बल बनिन्छ । पढाईलाई पनि सपोर्ट हुन्छ ।’