डडेलधुरा। प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन १५ वर्षसम्म हुनुपर्ने आफ्नो इच्छा रहेको बताएका छन्। डडेलधुरामा पहिलो चुनावी सभालाई बिहीबार सम्बोधन गर्दै देउवाले समृद्धि र आर्थिक विकासका लागि राजनीतिक स्थायित्व आवश्यक भएकाले पनि गठबन्धनको राजनीतिले निरन्तरता पाउनुपर्ने बताएका हुन्।
देउवाले नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई २ बजे उठाएर संसद् भंग गरेको आरोप लगाए। ‘ओलीजीले राति २ बजे राष्ट्रपतिलाई उठाएर ससद भङ्ग गर्नुभयो,’ उनले भने, ‘त्यसपछि मात्रै म प्रधानमन्त्री भएको हुँ । यसपटक मेरो प्रधानमन्त्री बन्ने मन त थिएन तर ओलीजीको गलत कदमका कारण भएको हुँ ।’ बाध्यात्मक परस्थितिमा गठबन्धन बनेको बताउँदै देउवाले १५ वर्षसम्म कायम गर्ने बताए। उनले भने, ‘हामीले केपी ओलीका असंवैधानिक कदम रोक्न बाध्यात्मक परस्थितिमा गठबन्धन गरेका थियौँ।
संविधानको रक्षाका निमित्त गठबन्धनलाई १०–१५ वर्षसम्म लैजाने इच्छा छ, ’ देउवाले भने। उनले ओलीले राष्ट्रपति भण्डारीलाई रातिको २ बजे उठाएर संसद भंग गरेको बताउँदै सबैको आग्रहमा प्रधानमन्त्री भएको बताए ।त्यसकारण राजनैतिक पद्धति र विकासलाई संस्थागत रुपमा विकास गर्न पनि गठबन्धन आवश्यक भएको प्रधानमन्त्री देउवाले बताए । स्थानीय तह निर्वाचनपछि पहिलो पटक आफ्नो चुनावी क्षेत्रमा पुगेका प्रधानमन्त्री देउवाले सीमा समस्या दुई देशबीच हुने मित्रवत व्यवहारले मात्र समाधान हुन सक्ने बताए । राजनैतिक नाफा, घाटाका लागि अनावश्यक रुपमा सीमाजस्तो संवेदनशील विषयलाई मुद्दा बनाउनु उचित नभएको पनि देउवाले बताए ।
उनले भने, ‘लिपुलेक के खोसेर फिर्ता ल्याउन सकिन्छ ?’ प्रधानमन्त्री देउवाले विपक्षी एमाले नेता केपी ओलीको भोलि दार्चुलामा हुने कार्यक्रमलाई लक्षित गर्दै लिपुलेक र सीमा क्षेत्रका विषयमा आफ्नो धारणा राखेका हुन् ।चुनावी सभामा देउवाले सुदूरपश्चिमको पर्यटन विकासका लागि आफूले सक्दो प्रयास गर्ने आश्वासन मतदातालाई दिए । उनले भने, ‘भारतीय पर्यटकलाई लक्षित गरी सुदूरपश्चिमका महत्वपूर्ण पर्यटकीय क्षेत्र विकास मेरो पहिलो प्राथमिकता हुनेछ ।’ देउवाले गठबन्धनले जितेपछि राजनीतिले स्थायित्व पाउने र विकास पनि सम्भव हुने भएकाले सहयोग गर्न मतदातालाई आग्रह गरेका थिए । यस्तै चुनावीसभालाई सम्बोधन गर्ने क्रममा गठबन्धनका नेताहरुले देउवालाई देशभरका १६५ वटा निर्वाचन क्षेत्रमध्ये अत्यधिक मतले जिताउन आग्रह गरेका छन् ।
माओवादी केन्द्रका सुदूरपश्चिम इञ्चार्ज तथा प्रदेशसभाका उम्मेदवार खगराज भट्टले देशलाई संकटबाट जोगाउनका लागि प्रधानमन्त्री देउवाले असाधारण भूमिका खेलेको बताउँदै अत्यधिक मतका साथ जिताउन आग्रह गरे । ‘प्रधानमन्त्रीज्यूसंग म तीनपटक निर्वाचन हारेको व्यक्ति हुँ,’ उनले भने, ‘उक्त समयमा मैले जितेको र प्रधानमन्त्रीज्यूले हारेको भए, देशका लागि दुर्भाग्य हुने थियो । मैले हारेको नै ठिक भयो । अब उहाँलाई देशभरमा सबैभन्दा बढी मतान्तरले विजयी गराउनुपर्ने आवश्यकता छ ।’यस्तै उनले डडेल्धुराको विकासका लागि आफू सधैँ लागिपरेको जनाउँदै डडेल्धुरा–धनगढी चार लेन सडक निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । डडेल्धुरामा मेडिकल कलेजको काम अगाडि बढिसकेको स्मरण गराउँदै उनले पश्चिमसेती जलविद्युत् परियोजनाका लागि भारतसँग सम्झौता गरी काम अगाडि बढिसकेको जानकारी दिए । अन्य ग्रामीण सडक विस्तार र प्राविधिक शिक्षासँगै गुणस्तरीय शिक्षाका लागि पनि आफू लाग्ने उनले बताए । सातौं पटक प्रतिनिधिसभाको उम्मदेवारी दिएपछि देउवा पहिलो पटक डडेलधुरा पुगेका हुन् । उनीसँगै चुनावी प्रचारप्रसारका लागि कांग्रेस केन्द्रीय सदस्य आरजु देउवा, केन्द्रीय सदस्य नैनसिंह महर, सुदूरपश्चिमका सामाजिक विकासमन्त्री गोविन्द बोहरालगायत नेताहरु रहेका छन् ।