डडेल्धुरा। चुनावी आमसभालाई सम्बोधन गर्न डडेल्धुरा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाको स्वागतका लागि उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकाल फूलमाला लिएर गएका छन्।
देउवाको स्वागतका लागि डडेल्धुरा सदरमुकाममा लाइनबद्ध कांग्रेस कार्यकर्तासँगै स्वतन्त्र उम्मेदवार ढकाल पनि फूलमाला लिएर लाइनमा बसेका थिए । ढकाल अरुसँगै हातमा माला बोकेर देउवाको स्वागतका लागि लाइन लागेका हुन्। देउवाले आज डडेल्धुरा सदरमुकाममा गठबन्धनले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गरेका छन् । उनी चार दिन त्यहाँ बस्नेछन् ।
देउवाले झपारेर चर्चामा आएका गुल्मीका ढकाल हजुरबुबालाई आराम दिने नाति पुस्ताले निर्णय गरेको भन्दै चुनावमा होमिएका छन् । ढकाललाई पाँच वर्षअघि देउवाले प्रधानमन्त्री रहेकै बेला बीबीसीको साझा सवाल कार्यक्रममा झपारेका थिए । प्रधानमन्त्रीसँग स्वतन्त्र उम्मेदवार ढकालसहित लामोसमय उनकै स्वकीय सचिव रहेका नेपाली कांग्रेस (बीपी) वरिष्ठ उपसभापति कर्णबहादुर मल्ल प्रतिस्पर्धामा छन् । त्यस क्षेत्रमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको उम्मेदवार छैन ।