डडेल्धुरा। कांग्रेस बीपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्ललाई दुईजना पूर्वजिल्ला पार्टी सभापतिले समर्थन गरेका छन्। नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग डडेल्धुरामा चुनावी प्रतिस्पर्धा गरिरहेका कांग्रेस बीपीका वरिष्ठ उपसभापति मल्ललाई दुईजना पूर्वजिल्ला पार्टी सभापतिले समर्थन गरेका हुन्।
नेपाली कांग्रेस डडेल्धुराका पूर्वसभापति शेरबहादुर ढाँट र रामचन्द्र चटौतले विज्ञप्ती जारी गर्दै मल्ल र प्रदेशसभा (२) का स्वतन्त्र उम्मेदवार डा. तारा जोशीको पक्षमा उभिएका छन्। डडेल्धुरामा कांग्रेस र शेरबहादुर देउवाका नामबाट सीमित व्यक्तिहरूले जनतामाथि जनताकै मत प्राप्त गरी गर्ने अन्याय, अत्याचार शोषण र दमनबाट मुक्ति दिलाउन मल्ल र जोशीलाई समर्थन गरिएको विज्ञप्तीमा उल्लेख छ।
उनीहरुले विज्ञप्तिमा भनेका छन्, ‘वीपी कोइरालाले भनेजस्तै ‘कांग्रेस पार्टी सत्तामा गइसकेपछि सुकिलमुकिला पार्टीभित्र हावी हुने छन् र सच्चा कार्यकर्ताहरुले पुन संघर्ष गर्नु पर्नेछ’ भन्ने मान्यता डडेलधुरामा हुबहु लागु भएको छ ।’कांग्रेस बीपीले डडेल्धुराको प्रदेश सभा (२) मा स्वतन्त्र उम्मेदवार डा. तारा जोशीलाई समर्थन गरेको छ। पछिल्लो समय जोशी सत्तारुढ नेकपा एकीकृत समाजवादीमा आवद्ध भएर राजनीतिमा सक्रिय रहेका थिए। यसअघि कांग्रेस बीपीले नेकपा एमालेसँग गरेको चुनावी तालमेल तोडेको थियो।ढाँट र चटौतले जिल्लाबासीमा करुवा र लालटिन चुनाव चिह्नमा मतदान गर्न पनि आग्रह गरेका छन्।