कैलाली। स्वर्ण पदक विजेता खेलाडी आनन्द कामीलाई गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले अत्तरियामा स्वागत गरेका छन । काठमाण्डौंबाट शनिबार अत्तरिया पुगेका आनन्दलाई नगरप्रमुख भट्टले खादा र टिकाले स्वागत गरेका हुन। स्वागत पश्चात नगरप्रमुख भट्टले खेलको माध्यमबाट गोदावरी नगरपालिकाको नाम देशभर चिनाउन सफल भएको भन्दै आनन्दलाई धन्यवाद ज्ञापन गरेका थिए।
उनले आनन्दको खेलजीवनको सफलताका लागी नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने बताए। यही कार्तिक ३ गते पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगीतामा आनन्दले करातेँ तर्फ ५० केजी तौल समुहमा स्वर्ण पदक जितेका थिए। कराँतेमा कैलालीबाट स्वर्ण जित्ने आनन्द पहिलो खेलाडी हुन। यसअघि कञ्चनपुर र डडेल्धुराका खेलाडीहरुले कराँतेमा स्वर्ण जितेका थिए।