बैतडी। बैतडीमा भन्सार छली ल्याएका सामग्री बरामद गरिएको छ । सीमा नाका झुलाघाटबाट भन्सार छली ल्याएका सामग्री राखिएको गोदाममा छापा मारी ती सामग्रीहरु बरामद गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए।
झुलाघाट बजारमै भन्सार कार्यालय नजिक गोदाम बनाएर भन्सार छलीका सामग्री राखिएको भन्ने सूचनाका आधारमा आइतबार अनुगमन गर्दा भन्सार छलीका सामग्री फेला परेको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए । चिनी, बिँडी, चप्पल, अगरबत्ती लगायत ५० हजार बढीको सामग्री बरामद गरिएको उनले बताए ।
बरामद गरिएको सामग्री महाकाली भन्सार कार्यालयलाई बुझाइएको छ । कार्यालयले अब ती सामग्री लिलाम गर्ने प्रमुख जिल्ला अधिकारी पन्थीले बताए । भन्सार छलेर सामग्री ल्याइ गोदाममा राख्ने र त्यहीँबाट विक्रि गरेको भन्ने सूचना आएपछि प्रशासनले अनुगमन गरेको छ । सो गोदामलाई अहिले सील गरिएको छ ।