डोटी। मनोनयन दर्ताको अन्तिम दिनमा पुग्दा आफ्नो टिकट खोसिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले असन्तुष्टि ब्यक्त गरेका छन्। प्रदेशसभा सदस्यमा दोहोरिने तयारीमा रहेका बेला उम्मेदवारी दर्ताको अघिल्लो रात उनको टिकट खोसिएपछि उनी असन्तुष्ट भएका हुन। यस अघि मुख्यमन्त्री भट्टले टिकट पाएको भन्दै कार्यकर्ताहरूले बधाई तथा शुभकामना समेत दिएका थिए ।
मुख्यन्त्री भट्टले पनि पार्टीको यो निर्णयले आफू स्तब्ध भएको र नेतृत्वसँगको छलफलपछि मात्र कसरी अगाडि बढ्ने भन्ने टुङ्गो लाग्ने प्रतिक्रिया दिए। मनोनयन दर्ताको अन्तिम दिन भने मुख्यमन्त्री त्रिलोचन भट्टकै पीए शिवसिंह ओलीले टिकट पाएका छन् । नेकपा (माओवादी केन्द्र) बाट डोटी जिल्लाको प्रदेश सभा ‘ख’ का प्रत्यासी उम्मेदवारहरुले विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीको टिकट खोसेर घोर अपमान गरेको बताएका छन्।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको चुनावी क्षेत्रबाट चुनाव लड्न उनका प्रमुख स्वकीय सचिव शिवसिंह वलीलाई टिकट दिए पछि माओवादीका दुई जना प्रत्यासी उम्मेदवारले विज्ञप्ति जारी गरेका हुन् ।
मुख्यमन्त्री भट्टका स्वकीय सचिव प्रेम कुँवर प्रख्यातले जिल्ला पार्टीले डोटीबाट प्रतिनिधिसभा सदस्यमा एकल उम्मेदवार सिफारिस गरे पनि गठबन्धन गर्दा प्रतिनिधिसभा सदस्यको सिट एकीकृत समाजवादीका भागमा परेपछि मुख्यमन्त्री भट्टलाई अध्यक्ष प्रचण्डलगायतको पार्टी पदाधिकारीले पुनः प्रदेशमा दोहोरिन भनेको थियो । केही दिनअघि पार्टी केन्द्रीय नेतृत्वलाई भेट्न काठमाडौँ पुगेका मुख्यमन्त्री भट्ट सोही मुताविक कार्यक्षेत्रमा फर्केको र अहिले आएर प्रदेशसभा सदस्यको टिकट पनि अन्यलाई दिएकाले पार्टीको पोलिटब्युरो सदस्यसमेत रहेका मुख्यमन्त्री असन्तुष्ट रहेको सचिव कुँवरले बताए ।
विज्ञप्ति मार्फत भनिएको छ, जिल्लाबाट टिकटका लागि मुख्यमन्त्री बाहेकका तीन जनाको नाम सिफारिस भएकोमा सहमति नजुटे पछि मुख्यमन्त्रीलाई नै टिकेट दिने सहमति भएको विज्ञप्तिमा उल्लेख छ । ‘मुख्यमन्त्रीको उम्मेदवारी प्रति विवाद छ भन्ने कृत्रिम हल्ला चलाएर वालीले टिकेट दिएकोमा आफूहरुको गम्भीर आपत्ति रहेको छ,’ संयुक्त हस्ताक्षर गरिएको प्रेस विजिप्तिमा भनिएको छ,’ एकातिर मुख्यमन्त्रीको घोर अपमान गर्ने र अर्का तिर हाम्रो उम्मेदवारीको व्यवस्था गर्ने कार्यको हामी घोर विरोध गर्दछौं र हामी सामूहिक रूपले अस्वीकार गर्ने कुरा यसै विज्ञप्ति मार्फत जानकारी गराउँदछौं ।’