सुदूरपश्चिम। सत्तारुढ पाँच दलीय गठबन्धनको सहमतिअनुसार सुदूरपश्चिममा पनी गठबन्धनदल बीचको सीट बाँडफाँटलगभग टुंगिएको छ। सीट बाँडफाँटको अहिलेसम्मको सहमति अनुसार सुदूरपश्चिम प्रदेशका १६ संघीय क्षेत्रमा नेपाली कांग्रेसले ९ सीट,माओवादी केन्द्रले ४ तथा नेकपा एकीकृत समाजवादीले २ क्षेत्र पाउने भएको छ।यद्धपी अछाम-१ मा नेकपा एस र माओवादी केन्द्रको दाबी छ ।
नेपाली कांग्रेसले कैलालीको क्षेत्र नम्बर १, ४ र ५, कञ्चनपुर क्षेत्र नम्बर २ र ३ तथा प्रधानमन्त्रीको गृहजिल्ला डडेल्धुरा, दार्चुला, बाजुरा र अछाम-२ पाउने निश्चित भएको छ । यस्तै नेकपा माओवादी केन्द्रले कैलालीको २ र ३ पाउने करिब पक्का भएको छ। कञ्चनपुर-१ र बैतडी पाउने देखिएको छ भने यस्तै अछाम-१ मा पनि दाबी गरिरहेको छ। नेकपा एकीकृत समाजवादीले बझाङ र डोटी पाउने लगभग निश्चित भइसकेको छ भने, अछाम-१ मा दाबी गरेको छ ।सुदूरपश्चिममा सत्ता गठबन्धनबाट सम्भावित उम्मेदवार को हुने भन्ने चर्चा पनि सुरु हुन थालेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी बिच सम्भावित उम्मेदवार को हुने भन्ने चर्चा पनि सुरु हुन थालेको हो ।यी हुन् कांग्रेस, माओवादी र नेकपा एसबाट सम्भावित उम्मेदवार
नेपाली कांग्रेस– सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसले पाउने ९ क्षेत्रमा लगभग उम्मेदवार पक्का भइसकेको स्रोतले जनाएको छ । जसअनुसार कैलाली १ मा पूर्वमन्त्री एवं केन्द्रीय सदस्य रामजनम चौधरी, ४ मा सुदुरपश्चिम प्रदेृश सभा सदस्य बिर बहादुर बलायर उम्मेदवार बन्ने सम्भावना बलियो रहेको छ ।। डोटी नेकपा एसका प्रेम आलेलाई दिने भएपछि बलायरलाई कैलाली-४ मा झारिएको छ । यद्यपी अघिल्लो पटक लेखराज भट्टसँग पराजित भएका पूर्वकेन्द्रीय सदस्य सुनिल भण्डारीले दाबी यथावत राखेका छन् । कैलाली-५ बाट प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवा एकल सिफारिसमा परेकी थिइन् । अघिल्लो पटक एमाले उम्मेदवार नारदमुनि रानासँग पराजित भएकी थिइन् । अहिले आरजुले समानुपातिक तर्फ उम्मेदवार बनेपछि प्रदेशसभा सदस्य डिल्लीराज पन्तको नाम चर्चामा छ । उनले आफूलाई बालुवाटार देउवा परिवार ले ‘तयारी गर्न’ भनेको अभिव्यक्ति दिदै आएका छन् । यही क्षेत्रमा कैलाली- ४ बाट विस्थापित हुनलागेका भण्डारी र प्रदेश महामन्त्री नरनारायण शाह (मनु)को नाम पनि चर्चामा छ । त्यस्तै कांग्रेसको भागमा परेका कञ्चनपुर-२ मा पूर्वमन्त्री एनपी साउँद र कञ्चनपुर-३ मा पूर्वमन्त्री रमेश लेखक निर्विकल्प उम्मेदवारजस्तै देखिन्छन् । यस्तै दार्चुलामा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र बाजुरामा पार्टीका सहमहामन्त्री बद्री पाण्डेको उम्मेदवारी पनि लगभग निश्चित छ । अछाम-२ मा कांग्रेसका जिल्ला सभापति पुष्पबहादुर शाहलाई उम्मेदवार बनाउन लागिएको कांग्रेस बताउँछ ।
माओवादी- माओवादीका भागमा परेको ४ क्षेत्रहरूमध्ये कैलाली-२ मा संविधानसभा सदस्य भगत बडुवाल उम्मेदवार हुनलागेको पार्टीनिकटस्रोत बताउँछ । कैलाली-३ मा भने प्रदेशसभा सदस्य वीरभान चौधरी र कृष्ण चौधरीको दाबी छ। दुबैमध्ये वीरभानकै सम्भावना बढी देखिन्छ ।कञ्चनपुर-१ मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की बुहारी बिना मगर उम्मेदवार बन्ने लगभग निश्चित छ । बैतडीमा नरेन्द्र कुँवर उम्मेदवार हुनलागेको माओवादीनिकट स्रोत बताउँछ । उता माओवादी केन्द्रले दावी नछाडेको अछाम-१ मा दीपक साउँदलाई उम्मेदवार बनाउने माओवादी केन्द्रको तयारी छ ।
नेकपा एकीकृत समाजवादी- २ क्षेत्रमध्ये, अछाम-१ मा श्रम तथा रोजगारमन्त्री कुँवरलाई नै उम्मेदवार बनाउने तयारी छ । उनी २०६४ सालको संविधानसभामा एमालेका तर्फबाट सोही क्षेत्र जितेका थिए भने पछिल्लो समय राष्ट्रियसभामा सांसद थिए । यस्तै डोटीमा पूर्वमन्त्री आले र बझाङमा भानुभक्त जोशी उम्मेदवार हुने पक्कापक्की भएको छ ।नौ जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा प्रतिनिधीसभाका १६ र प्रदेशसभाका ३२ वटा निर्वाचन क्षेत्र छन्। प्रदेशका १६ प्रतिनिधीसभाका निर्वाचन क्षेत्रमध्ये ९ काँग्रेस, ४ माओवादी केन्द्र र ३ निर्वाचन क्षेत्र नेकपा एकिकृत समाजबादीले पाउने भएको हो । सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार ४ जना मतदाताले मतदान गर्ने पाउने भएका छन्।