धनगढी। धनगढीस्थीत सेती प्रादेशिक अस्पतालमा रहेका करार सेवाका चिकित्सक र कर्मचारीको भत्ता कटौती गरिएको छ। सेती प्रादेशिक अस्पतालमा कार्यरत एक सय ८२ जना चिकित्सक, नर्सिङ स्टाफ तथा अन्य कर्मचारीको भत्ता कटौती गरिएको हो। सुुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले बजेट निकासा दिएको छैन्। अस्पतालमा कार्यरत चिकित्सक, नर्सिङ स्टाफ तथा अन्य कर्मचारीलाई प्रदेश सरकारले यो वर्ष दशैं भत्ता नदिने भएको हो ।
विगतका वर्षहरुमा करार सेवाका कर्मचारीले पनि यो सुविधा पाउने गरेका थिए। गत भदौ १५ गतेको मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत दरबन्दीबाहेकका करार सेवाका कर्मचारीलाई प्रोत्साहन भत्ता नदिने निर्णय भएको छ। डाक्टर विष्णु बमले अस्पतालका कर्मचारीहरुले खाइपाइ आएको दसैं पेस्की तथा महङ्गी र प्रोत्साहन भत्ता नपाएकाले माथिल्लो निकायमा निवेदन दिएको जानकारी दिए। उनले यो वर्ष दसैं भत्ता, प्रोत्साहन र महङ्गी भत्ता पाएका छैनौँ, पाउनु पर्यो भनेर निवेदन दिएको बताए। खाइपाइ आएको भत्ता पाउनु पर्यो भन्ने माग छ उनले भने।
यता संघीय अर्थ मन्त्रालय र प्रदेशको आर्थिक मामिला मन्त्रालयको परिपत्र र निर्देशनअनुसार अस्पतालको दरबन्दीबाहेकका कर्मचारीको दसैं पेस्की, प्रोत्साहन र महङ्गी भत्ता कटौती गरिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। सेती अस्पताल व्यवस्थापन समितिले भने दरबन्दीबाहेक करार सेवामा नियुक्त गरिएको कर्मचारीलाई भत्ता उपलब्ध गराउने प्रयास गरीने बताएको छ। सबै कर्मचारीलाई भत्ता दिन छलफल भइरहेको सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष निर्मल शाहले बताए ।उनले मन्त्रालयबाट दरबन्दीबाहेकका कर्मचारीको भत्ता दिन रकम नपाएको बताए। तर पनि उनिहरुलाई कामको चापको मुल्याङ्कन गरेर भत्ता दिने विषयमा छलफल भइरहेको उनले भनाई छ।
सेती अस्पतालमा स्वीकृत दरबन्दीअन्तर्गत नियुक्त भएका कर्मचारीलाई मात्रै सामाजिक विकास मन्त्रालयले दसैं पेस्की, प्रोत्साहन र महङ्गी भत्ताका लागि रकम निकासा गरेको छ। अस्पतालमा बिरामीको चाप अनुसारको दरबन्दी नहुँदा चिकित्सक र कर्मचारीलाई सेवा करारमा लिनुपर्ने बाध्यता छ । तर अस्पताल व्यवस्थापनले भने उपयुक्त विकल्प खोजेर सबै कर्मचारीलाई भत्ता दिने व्यवस्था गरिने दाबी गरेको छ। सुदूरपश्चिम प्रदेशकै सबैभन्दा ठुलो र रेफरल अस्पताल समेत रहेको सेती अस्पतालमा ५० शैयाको सरकारी दरबन्दी र ७५ शैयाको दरबन्दी अस्पताल विकास समितिकोले स्वीकृत गरेको छ । जम्मा एक सय २५ स्वीकृत दरबन्दीमा अस्पताल सञ्चालित छ ।