धनगढी : नेपाली कांग्रेस बैतडीले प्रतिनिधि सभाको टिकट कांग्रेसलाई दिनुपर्ने अडान राखेको छ । सोमबार काठमाण्डौंमा बसेको जिल्ला कार्यसमिति बैठकले प्रतिनिधि सभाको टिकट कांग्रेसलाई नै दिनुपर्ने निष्कर्ष निकालेको हो ।
जिल्ला सभापति चतुरबहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले जनमतका आधारमा संघीय सांसदको लागि गठबन्धन दलहरुका तर्फबाट नेपाली काग्रेंसले टिकट पाउनु पर्ने र अन्यथा मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय भएको नेपाली कांग्रेसका जिल्ला सचिव देवराज जोशीले बताए । उनले भने ‘जनमतका आधारमा पनि हामीले टिकट पाउनुपर्छ । यदि त्यसो भएन भने मित्रवत प्रतिस्पर्धा जाने निर्णय गरेका छौं । संघको टिकट कांग्रेसलाई दिएन भने बैतडीमा गठबन्धन हुँदैन् ।’
संघमा नेपाली कांग्रेसलाई टिकट दिनुपर्ने निर्णयका बारेमा नेपाली कांग्रेस केन्द्रिय कार्यसमिति र गठबन्धन कार्यदलमा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सदस्यहरुलाई जानकारी गराइएको सचिव जोशीले बताए । प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसले टिकट नपाएमा गठबन्धन दलहरुसंग मित्रवत प्रतिस्पर्धा गर्ने निर्णयका बिषयमा पनि जानकारी गराइएको सचिव जोशीले बताए ।
यस्तै प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक सूचीमा बैतडीबाट प्रतिनिधित्व हुनुपर्ने माग गरिएको छ । महिला, खसआर्य, दलित सबै कोटमा बैतडीबाट पनि प्रतिनिधित्व हुनुपर्ने माग गरिएको सचिव जोशीले बताए ।
बैठकमा काठमाण्डौंमा उपलब्ध जिल्ला कार्यसमितिका पदाधिकारीका साथै पूर्व पार्टी सभापति शिवराज भट्ट, महाधिवेशन प्रतिनिधि उत्तरबहादुर ऐर, सुदूरपश्चिम प्रदेश कार्यसमितिका उपसभापति लोकराज अवस्थी, सुदूरपश्चिम प्रदेश कार्यसमितिका सदस्य कान्ता चन्द, तेजबहादुर चन्द लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । गठबन्धन दलहरुबीच बैतडीमा कसले टिकट पाउने भन्ने निर्णय नभइसकेपनि लगभग माओवादी केन्द्रका् भागमा बैतडी पर्ने सम्भावना निकै बढी छ ।