अछाम। अछामका १० स्थानीय तहका ९१ मध्ये अधिकांश वडामा सचिव नहुँदा कार्यसम्पादनमा अप्ठ्यारो भएको पाइएको छ । सामान्यतया प्रशासनतर्फका चौथो र पाँचौं तहका कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिने गरेको भए पनि अधिकांश वडामा स्वास्थ्य, कृषि, पशु सेवा र अन्य शाखाका कर्मचारी नै वडा सचिवका रूपमा खटिएका छन् ।सदरमुकाममा रहेको मंगलसेन नगरपालिकाका १४ मध्ये अधिकांश वडामा समेत सचिव छैनन् ।
जिल्लाका अन्य पालिकाभन्दा सुगम मानिने मंगलसेनमा नै दुर्गम ठानेर कर्मचारीहरू धेरै नबस्ने गरेको नगरपालिकाका सूचना अधिकारी विष्णु जैसीले बताए । ‘हाम्रा नगरपालिकाका १४ वडामध्ये ५ वडामा मात्रै प्रशासनतर्फका स्थायी कर्मचारीहरू वडा सचिवका रूपमा खटिएका छन् । बाँकी ९ वडामा पशु र कृषि शाखाका स्थायी कर्मचारीलाई पञ्जिकाधिकारीको जिम्मेवारी दिइएको जैसीले बताए । यस्तै अछामको दुर्गम मानिने रामारोशन गाउँपालिकाका ७ वडामध्ये वडा ४ बाटुलासैनमा मात्रै दरबन्दीअनुसारको सचिव छन्।
बाँकी वडामा स्वास्थ्यका कर्मचारीलाई सचिवको जिम्मेवारी दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले बताए । ‘एकै कर्मचारीलाई वडा सचिव र स्वास्थ्य चौकीसमेत हेर्नुपर्ने दोहोरो जिम्मेवारी दिँदा दुवै क्षेत्रको काम प्रभावकारी हुन नसकेको उनले बताए । अहिले स्थानीय तहका कर्मचारीले पनि सरुवा हुन पाउने व्यवस्था भएपछि दुर्गम भनेर धेरैजसो आफूलाई पायक पर्ने स्थानमा जान थालेपछि कर्मचारीे अभावले कार्यसम्पादनमा चुनौती रहेको उनले बताए । कमल बजार नगरपालिकाका १० वटा वडामध्ये ४ वडामा मात्रै वडा सचिव छन्।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खडक विष्टले ‘दुर्गमका मान्छे लोक सेवा आयोगमा न्यून संख्यामा नाम निकाल्छन्। ती नाम निकालेकाहरू सुरुमा आफ्नै स्थानीय तहमा आएको बताए । सेवा सुविधा र आफ्नो व्यक्तित्व विकासका लागि भए पनि उनीहरू यस्तो ठाउँमा बस्न मन नपराराउने गरेको बताए । अहिले नगरपालिकाका ६ वटा वडामा शिक्षा, कृषि र पशु सेवा शाखातर्फका कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिएको उनले बताए । रामारोशन गाउँपालिका–७ सुतारमा कार्यरत अहेव श्याम भण्डारी अहिले पनि दोहोरो जिम्मेवारीमा रहेका छन् । अहेव विषय पढेर स्थायी कर्मचारीका रूपमा रामारोशन गाउँपालिकामा आउनेबित्तिकै वडा सचिव र स्वास्थ्य चौकी इन्चार्जको जिम्मेवारी उनलाई आयो । जिल्लाकै दुर्गम मानिने सुतार र भाटाकाटियामा उनले ३ वर्षदेखि दुईतिर काम गर्दै आएका छन् । उनले जीर्ण भवनबाट सेवा दिइरहनुपरेको र कामको चाप बढेको बताए । उनले कार्यालय सहयोगीदेखि वडा सचिवको काम आफैं गर्नुपर्ने बाध्यता रहेको जानकारी दिए ।