कैलाली। मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधी सभाको चुनावका लागी यती बेला दलहरुलाई उम्मेदवार छान्न सकस परिरहेको छ । कैलाली क्षेत्र नम्बर ५ पनी सत्तागठबन्धनका दलबाट उम्मेदवार छान्न सकस परिरहेको छ । कांग्रेसबाट आकांक्षी धेरै हुँदा उम्मेदवार छान्न सकस परिरहेको हो ।
हुन त कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट सुरुमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवा ०७४ सालको निर्वाचनमा पटक संसदीय उम्मेदवार बनेकी थिइन् । त्यतिबेला वाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एमालेका नारदमुनि रानाले २७ हजार २०२ मत ल्याउँदा राणाले २२ हजार ३२२ मत ल्याएर ४ हजार ८८० मतले पराजित भएकी थिइन् । आसन्न मंसिर ४ गते हुने चुनावमा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाटै कांग्रेसले प्रत्यक्षतर्फका लागि राणालाई सर्वसम्मत सिफारिस पनि गर्यो।
उनलाई कैलालीबाट मात्रै होइन, उनी डडेल्धुराबाट समानुपातिक, बर्दिया २, बाँके ३ र बागलुङ २ बाट पनि प्रत्यक्ष उम्मेदवारको रुपमा सिफारिस भएकी थिइन्। तर, अन्तिममा राणा प्रत्यक्ष चुनाव नलड्ने भएकी छन्। उनी सुदूरपश्चिमबाट समानुपातिकतर्फ गएकी छन्। अब आरजुले कैलाली ५ छोडेर समानुपातिक रोज्दा अब कांग्रेसबाट प्रत्यक्ष चुनाव को लड्ला भनेर बिशेष चाँसोका साथ हेरिएको छ। कैलाली क्षेत्र नम्बर ५ का कांग्रेस सभापति भीम पडालले प्रत्यक्ष चुनाव लड्दा दौडधूप गर्नु पर्ने हुनाले स्वास्थ्य स्थितीले त्यो सम्भव नभएको बताए । त्यसैले आरजु राणा देउवा समानुपातिकमा गएकी हुन्। आकांक्षी धेरै देखिएकाले कस्लाई उठाउने भनेर छलफल भइरहेको उनले जानकारी दिए ।
राणा ‘ब्याक’ भएर कैलाली ५ को प्रत्यक्षमा नेपाली काँग्रेसबाट चुनाव लड्न आकांक्षी धेरै हुँदा उम्मेदवार छान्न सकस परेको हो । उता कैलाली क्षेत्र नम्बर ५ बाट नेकपा एमालेले नारदमुनि रानालाई चुनाव लडाउने तयारी गरेको छ। एमालेले रानालाई प्रत्यक्षतर्फ सर्वसम्मत सिफारिस गरेको छ। ०७४मा माओवादीको समर्थनमा चुनाव जितेका रानालाई यसपटक कांग्रेसबाट कस्ले चुनौती दिन्छ भन्ने चर्चा चुलिएको छ । कांग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायण शाह मनु, नेताहरु सुनिल भण्डारी र निवर्तमान प्रदेश सभा सदस्य डिल्लीराज पन्तलाई कैलाली ५ मा आकांक्षीका रुपमा हेरिएको छ। यस्तै, ०७४ सालको चुनावमा आरजुलाई हराउन भूमिका खेलेको आरोपमा कारबाहीमा परेका पुष्करनाथ ओझा पनि कांग्रेसबाट चुनाव लड्ने आंकलन गरिएको जनाइएको छ ।