धनगढी। नेपाली र हिन्दी भाषामा एकैसाथ प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘प्रेम गीत–३’ को टोली बिहीबार धनगढी पुगेको छ। आशुसेन फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको प्रदर्शनी मिति नजिकिएसँगै प्रचार–प्रसारका लागि टोली कैलालीको धनगढीमा पुगेको हो। असोज ७ गतेदेखि प्रदर्शनमा आउन लागेको सो चलचित्रका टोलीले भारतका विभिन्न स्थानमा प्रचार-प्रसार गरेको छ। टोलीले धनगढीस्थित सुदूरपश्चिमाञ्चल कलेजमा चलचित्रको प्रवर्द्धनका लागि कार्यक्रम आयोजना गरेको थियो।
सर्वाधिक चर्चामा रहेको चलचित्रका टोलीले धनगढीस्थित एसटिएस सिनेमा हलमा फिल्मको झलक प्रदर्शनसँगै पत्रकार भेटघाट गरेको छ। चलचित्र ‘प्रेम गीत ३’ले भारतमा प्रदर्शनका लागि तयारी थालेको हो। सो चलचित्र भारतका विभिन्न ठाउँमा एकसाथ प्रदर्शन हुन लागेको निर्माता निर्देशक सन्तोष सेनले बताए।‘एकसाथ भारतका धेरै ठाउँमा नेपाली चलचित्र प्रदर्शन हुनु नेपाली चलचित्र उद्योगका लागि ठूलो अवसर हो’, उनले भने। यसले नेपाली चलचित्रको बजार फराकिलो बनाउने उनले विश्वास व्यक्त गरे। उनले यसबाट नेपाली कला, संस्कृति र मौलिकताको प्रवद्र्धन पनि हुने बताए।
दशैंको समयमा प्रदर्शन हुन लागेको सिनेमाले ५० वर्षे नेपाली सिनेमाको इतिहासमा अन्तर्राष्ट्रीय सिनेमा बजारमा पहिलोपटक ढोका खोल्ने उनले बताए। नेपालका विभिन्न भागमा पुगी छाँयाकन गरिएको सो चलचित्रको निर्माणका क्रममा आठ करोड बढी रकम खर्च भएको निर्माण कम्पनीले जानकारी दिएको छ। ‘चलचित्र हेर्नका लागि अहिले नेपाल र भारतका विभिन्न स्थानका मानिस पर्खाइमा छन्। प्रदर्शनीमा आएपश्चात यसले आम दर्शकमाझ कस्तो प्रभाव पार्छ त्यसैले चलचित्रको सफलता र असफलता तय गर्छ’ उनले भने।
चलचित्रमा खड्कासँगै क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, अनुभव रेग्मी, योगीशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय रहेको छ। सांगीतिक प्रेम कथामा निर्माण भएको ‘प्रेम गीत ३’, ‘प्रेम गीत’ चलचित्रको निरन्तर सिरिज हो। सेनसँगै छेतेन गुरुङ पनि सो चलचित्रका निर्देशक छन्। एसटिएस सिनेमाका इन्चार्ज योगेन्द्र नायकले असोज ७ गतेबाट देशव्यापी रुपमा हिन्दी र नेपाली दुवै भाषामा रिलिज हुने फिल्म प्रेम गित ३को प्रोमोसन का लागि धनगढी पुगेसङ्गै भव्य रुपमा कार्यक्रम सम्पन्न गरिएको बताए । चलचित्रसहितको टोली नेपाली फिल्म इन्डस्ट्रीमा मात्र होइन, अन्तरास्ट्रिय स्तरमा अदभूत चर्चा प्रेम गित ३ ले कमाएको बताउँदै नेपाली चलचित्र क्षेत्रको कोसेढुङ्गा साबित हुने बिश्वास लिएका छन् ।उनले असोज ७ गते धनगढीको एसटिएस सिनेमा हलमा चलचित्र हेर्न सकिने जानकारी दिए ।