डोटी। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वडले डोटीका नेता कार्यकर्ताले गठबन्धन नचाहेको बताएका छन् । ‘जनताको साथमा कांग्रेस’ अभियान अन्तगर्त बुधबार शिखर नगरपालिकाको हलमा भएको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
‘जनताको साथमा कांग्रेस’ अभियानका लागि केन्द्रीय प्रतिनिधिका रुपमा डोटी आएका वडले सातवटा पालिकाको कार्यक्रममा सहभागी हुँदा जनता तथा कार्यकर्ताहरुको गठबन्धन हुनुहुँदैन भन्ने आवाज रहेकाले डोटीमा गठबन्धन आवश्यक नरहेको बताए। ‘आगामी मंसिर ४ गते हुने संघ र प्रदेश सभाको निर्वाचनमा डोटीमा गठबन्धन गर्नु हुँदैन भनेर केन्द्रीय पार्टी सभापति शेरबहादुर देउवालाई जानकारी गराउने छु’, वडले भने, ‘नेता कार्यकर्ताको भावना बिपरित गठबन्धन गरे पार्टी गम्भीर मोडमा जानेछ।
’उनले भने, ‘गठबन्धन रहर होइन बाध्यता हो, दुई तिहाइको कम्यनिष्ट सरकारले राज्य चलाउन नसकेर देश गम्भीर मोडमा गएको बेला गठबन्धनको नेतृत्व गरेर सरकारमा गएका हौं ।’कार्यक्रममा बोल्दै पार्टी धरापमा पारेर गठबन्धन गरे खरो रूपमा उत्रने नेपाली कांग्रेसका नेता तथा निबर्तमान केन्द्रीय सदस्य आनन्द बिष्टले बताए। उनले भने, ‘आफुले टिकट पाउदा राम्रो, नपाउँदा पार्टीको बिरुद्धमा लाग्ने असली कांग्रेस होइन ।,
यस्तो प्रबृत्तीको अन्त्य गरी जुनसुकै व्यक्तिले टिकट पाउँदा पनि कांग्रेस जिताउने अभियानमा लाग्न सुझाए।’पार्टी भित्रको आन्तरिक व्यवस्थापन गरेर गठबन्धनमा जानुपर्ने नेपाली कांग्रेसका नेता तथा प्रदेश सभा सदस्य भरतबहादुर खड्काले बताए। डोटीमा भने गठबन्धन आवश्यक नरहेको उनले बताए। नेपाली कांग्रेस डोटीका पार्टी सभापति नरेन्द्रबहादुर सिंहले डोटीमा गठबन्धन कुनै हालतमा स्वीकार्य नहुने बताए । पार्टीमा नेता तथा कार्यकर्ताले पुस्तान्तरण भन्दा परिवर्तन चाहेको सभापति सिंहले बताए।