डोटी। नेपाली कांग्रेसका प्रदेश सभापति एवं पूर्वमन्त्री वीर बहादुर बलायरले डोटी कांग्रेसमा कुनै पनि गुट उपगुट नरहेको बताएका छन् । नेपाली कांग्रेस डोटीले आयोजना गरेको “जनताको साथमा कांग्रेस अभियान” कार्यक्रमलाई सम्बोधन गर्दै उनले डोटी कांग्रेसमा कुनै पनि गुट उप–उपगुट नरहेको र एकढिक्का रहेको बताउँदै जिल्लामा कुनै पनि हालतमा गठबन्धन हुन नदिने बताएका छन् ।
मंसिर ४ गते हुन गइरहेको प्रदेश र संघ चुनावमा डोटीमा कांग्रस भित्र कुनै पनि गुट नरहेको दाबी गरे। उनले कुनै पनि हालतमा गठबन्धन हुन नदिने बताए। कांग्रेसका प्रदेश सभापति एवं पूर्वमन्त्री बलायरले भने,“निर्वाचन लड्ने कुरामा डोटी कांग्रस एकजुट छ। अल्पमतमा रहेको पार्टीसँग तालमेल गरेर आफ्ना मतदातालाई झुक्याउने पक्षमा हामी छैनौ । जिल्लामा गठबन्धन हुन दिदैनौं ।”आफु कुनै पनि हालतमा प्रदेश र समानुपातिकमा चुनाव नलड्ने उद्घोष गर्दै सभापति बलायर पार्टीले टिकट उपलब्ध गरायो भने संघ मै चुनाव लड्ने बताए । “मैले नै टिकट पाउनु पर्छ, म नै लड्नु पर्छ भन्ने छैन । टिकट पाउने पात्र फरक हुन सक्छ,“उनले भने,“पात्र जो भए पनि कांग्रेस एक्लै चुनाव लड्छ । हामी घुँडा धसेर सबै नेताहरु एक ठाउँमा उभिएर निर्वाचनमा जान्छौं ।” आफुले चुनाव लड्दा भन्दा बढी मेहनत चुनाव लडाउदा गर्ने सभापति बलायरले बताए ।यस्तै
सुदूरपश्चिम प्रदेश सभाका सदस्य कांग्रेस नेता भरत बहादुर खड्काले जस्ले टिकट पाए पनि कांग्रेस एकमत, एकढिक्का भएर लाग्ने बताए । “पार्टीको आन्तरिक निर्वाचनमा फरक ठाउँमा उभिएर चुनाव लड्नु पर्ने प्राविधिक बाध्यता हुन्छ तर आगामि चुनावमा गुट उपगुटमा बाँडिने छुट कसैलाई नभएको बताए । उनले भने,“गठबन्धन भन्ने, प्रदेशमा सरकारलाई हामीले समर्थन दिइरहनु पर्ने तर प्रदेश सरकारले हामीलाई सधै पेली रहने । बजेट बनाउँदा, काम गर्दा हाम्रो वास्ता नगर्ने, हामीलाई सधै बाइपास गरिरहने अनि उनीहरुलाई चुनावमा गठबन्धन चाहिने,“यो हुनै सक्दैन हामी एकजुट भएर तीन वटै सिटमा पात्र जो सुकै भए पनि चुनाव लड्छौं ।”कांग्रेस डोटीका सभापति नरेन्द्र बहादुर सिंहले पार्टी भित्र कुनै पनि असन्तुस्टि र कुनै पनि गुट नरहेको बताउदै स्थानीय स्तरका नेताकार्यकर्ता र जनताहरु कांग्रेसको रुख चिन्हमा मतदान गर्न र गराउन तयार रहन आग्रह गरे ।
जिल्लामा गठबन्धन आवश्यक नरहेकोले जल्लामा गठबन्धन नगर्ने निर्णय गरिसकेका छौं । “त्यही अनुरुप केन्द्रलाई पनि जानकारी गराएका छौं,“उनले भने,“डोटीमा गठबन्धन स्वीकार्न नसकिने ठुलो जनदवाव पनि छ । जिल्लाका तीनै सिटमा कांग्रेस एक्लै चुनाव लड्छ ।”नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टले पनि गठबन्ध विना कांग्रेस एक्लै चुनावमा जाने बताए । “चुनाव लड्नका लागि कांग्रसमा दर्जनौ क्षमतावान नेताहरु छन्,“टिकट केही सिमित व्यक्तिहरुले पाउने हो । टिकट जस्ले पाए पनि हामी सबै एकढिक्का भएर चुनाव लड्ने दावी गरे। कांग्रेस महाधिवेशन प्रतिनिधि जीत बहादुर खड्काले नेपाली कांग्रेसका भोटरहरुले अन्यपार्टीको चुनाव चिन्हमा भोट हाल्नु पर्ने अवस्था सृजना हुन नदिने सबै नेता कार्यकर्ता प्रतिवद्ध रहेको बताए । पार्टीको हित, जनताको मनोभावना र कांग्रसको जीतका लागि आफु जुनसुकै ठाउँमा उभिन तयार रहेको बताउँदै उनले चुनाव लड्ने सवालमा डोटीमा कांग्रेस भित्र कुनै पनि गुट नरहेको जनाए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं अभियानका केन्द्रीय प्रतिनिधि नृप बहादुर वडले स्थानीय स्तरका नेता, कार्यकर्ता र मतदाता देखि शिर्ष नेताहरु सबै गठबन्धनको विपक्षमा रहेको बताउँदै केन्द्रलाई सोही अनुसारको जानकारी गराउने बताए । “डोटीमा कांग्रेस एकजुट भएर एक्लै चुनावमा जाने बलियो आधार भनेकै यहाँको जनमत भएको बताए । “जनमतको कदर गर्दै केन्द्रले पनि निर्णय गर्ने छ । जिल्लामा कांग्रेस प्रति देखिएको जनलहर र यहाँका नेताहरुको एक मतले आगीमा निर्वाचनमा कांग्रेस बहुमतले जित्ने पक्का रहेको उनले बताए । स्थानीय नेताकार्यकर्ताहरुले पनि कांग्रेस एकढिक्का भएर निर्वाचनमा जाने र गठबन्धन स्वीकार नगर्ने एकमत छन्। गठबन्धन नगर्न सचेत गराउँदै शिर्षनेताहरु मिलेर चुनाव लड्न सुझाब दिदै आएका छन् ।