बैतडी । बैतडीमा नियमविपरित संचालनमा रहेका ३ वटा मेडिकल सिल गरिन थालीएका छन् । मेडिकल अनुगमनका क्रममा नियमविपरीत सञ्चालनमा रहेका मेडिकलहरु भेटिएको पाइएकाले सिल गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले ४ वटा मेडिकल अनुगमनको क्रममा ३ वटा मेडिकलले सञ्चालन गर्न नपाउने क्लिनक सेन्टर पनि सञ्चालन गरिएकोमा बन्द गरिएको बताए ।
मुस्याचौरस्थित प्रकाश मेडिकल हल र जयदुर्गे मेडिकल हलको क्लिनिक बन्द गरिएको हो । देहिमाण्डौंस्थित निङ्गलाशैनी फार्मेसी एक जनाको नाममा दर्ता भएर अर्कैले सञ्चालन गरेको भेटिएकोले सिल गरिएको प्रशासनले जनाएको छ ।अनुगमनको क्रममा मेडिकलहरुले बेच्न नपाइने औषधिहरु पनि बेच्ने गरेको भेटिएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए। अहेव बस्ने मेडिकलहरुले क्लिनिक सञ्चालन गरेर बेडहरु राखेको भेटिएकोले बन्द गरिएको छ । उनले भिडियो एक्सरे पनि मेडिकलमा राखेको भेटिएको र ल्याबका कर्मचारी नभएर ल्याब पनि सञ्चालन गरेको पाइएको बताए । मेडिकलमा औषधि पनि फार्मेसी नपढेकाले बेचेको भेटिएको बताउँदै नियम विपरीत खोलिएका क्लिनिक, ल्याब, एक्सरे, फार्मेसीहरु बन्द गरेको जानकारी दिए ।