काठमाडौँ । महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सोध्नका लागि ४३ वटा प्रश्न तयार पारेको छ । आफूमाथि लागेको महाभियोगबारे बयान दिनका लागि सिंहदरबार पुगेका जबरालाई सोध्नका लागि ४३ वटा प्रश्न तयार पारिएको समिति सदस्य प्रमोद साहले जानकारी दिए । समितिको गत बुधबारको बैठकले महाभियोग लागेका जबरालाई बयानका लागि बोलाएको थियो ।
अहिले समितिको बैठक बसिरहेको भए पनि बयान लिने क्रम सुरु भएको छैन । जबरा अहिले संसद् सचिवालयका सचिव ध्रुव घिमिरेको कार्यकक्षमा बसिरहेका छन् । बैठक कसरी सञ्चालन गर्ने भन्नेबारे अहिले छलफल भइरहेको छ । बयान खुला राख्नुपर्ने कुरा राखेको एमालेका सांसद कृष्णभक्त पोखरेलले बताएका छन् । कांग्रेस सांसद मीन विश्वकर्मा, माओवादी सांसद रेखा शर्मा र एकीकृत समाजवादी कल्याणी खड्काले बन्द बयान हुनुपर्ने अडान लिएका छन् । १ घण्टादेखि समिति बैठक खुला हुने कि बन्द हुने भन्ने विषयमा छलफल भइरहेको छ ।