कैलाली। कैलालीको गौरीफन्टानाका हुँदै साढे ३ अर्बको खाद्यान्न आयात भएको छ। भारतबाट कैलालीको प्रमुख भन्सार नाका गौरीफन्टा हुँदै गत आर्थिक वर्ष ०७८/७९ मा ३ अर्ब बढीको खाद्यान्न, तरकारी र फलफूल मात्र आयात भएको हो । कैलाली भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षमा भारतबाट गहुँ, चामल, मकै, कनिका र रायोको दाना गरी २ अर्ब ६ करोड ५४ लाख बढीको खाद्यान्न आपूर्ति भएको छ ।
सोही अवधिमा १ अर्ब २७ करोड ५३ लाख मूल्य बढीको फलफूल तथा तरकारी आयात भएको छ । खाद्यान्नतर्फ एक अर्ब १८ करोड ३५ लाख बढीको चामल भित्रिएको छ । परिमाणमा यस अवधिमा २५ हजार बढी टन चामल आयात भएको हो । १३ करोड ५१ लाख मूल्यको एक लाख ३६ हजार टन गहुँ आयात भएको छ । २९ करोड २५ लाख ३६ हजार बढी मूल्य बराबरको मकै आयात भन्सार कार्यालय कैलालीकी सूचना अधिकारी अम्बिका केसीले बताइन् । १९ लाख ८१ हजार मूल्य बराबरको कनिका आयात भएको छ । ४५ करोड २३ लाख बढी मूल्यको रायोका दाना आयात भएको छ ।
भारतसँग सीमा जोडिएका सुदूरपश्चिमको प्रमुख भन्सार नाका धनगढीसँग जोडिएको गौरिफन्टा, टीकापुरसँग जोडिएको सत्ती र कञ्चनपुरको गड्डाचौकी भन्सार प्रमुख भन्सार कार्यालय रहेका सीमानाका हुन् । यी बाहेक अन्य जिल्लामा पनि सीमा नाका र भन्सार कार्यालय छन् । अन्य नाका भएर आयात भएको फलफूल तथा खाद्यान्नको अभिलेख जोड्दा सुदूरपश्चिममा आयात हुने फलफूल, तरकारी तथा खाद्यान्नको परिणाम थप बढी छ ।धनगढीस्थित भन्सार कार्यालयको अभिलेखअनुसार गत आर्थिक वर्षमा तरकारी र फलफूलको आयात पनि उच्च छ ।
३ अर्ब ३४ करोड ८ लाख मूल्य बढीको तरकारी र फलफूल भारतबाट आयात भएको छ । ५१ करोड २८ लाख ८८ हजार मूल्य बराबरको १९ हजार एक सय टन त तरकारी मात्रै आयात भएको छ । अन्य तरकारीअन्तर्गत ३ करोड ८५ लाख २४ हजार मूल्य बराबरको एक हजार ५ सय टन टमाटर, २० करोड मूल्य बराबरको ५ हजार टन प्याज आयात भएको छ । फलफूलअन्तर्गत ३ करोड ७ लाख बढी मूल्य बराबरको केरा आयात भएको छ । जबकि कैलाली कञ्चनपुरका किसानहरूले बजार भाउ नपाउँदा सस्तो मूल्यमा केरा बिक्री गर्नुपरेको तथा केरामा आत्मनिर्भर भएको बताउँछन् । चार वर्षअघि नै कैलाली र कञ्चनपुर जिल्लामा दुई हजार पाँच सय बढी कृषकहरूले एक हजार पाँच सय हेक्टरमा व्यावसायिक रूपमा केरा खेती गर्दै आएका थिए । त्यसै बेलाको तथ्यांकअनुसार कैलालीमा मात्रै वार्षिक ७८ हजार टन केरा उत्पादन हुने गरेको तथ्यांक थियो । प्रदेश सरकारले पनि त्यसै बेलादेखि केरामा आत्मनिर्भर बनाउने उद्देश्यले लगानी गर्दै आएको दाबी गर्दै आएको छ ।
भारतबाट आयात भएको अर्को मुख्य फलफूल स्याउ हो । गत आर्थिक वर्षमा गौरीफन्टा नाका भएर २ करोड ७१ लाख बढी मूल्य बराबरको स्याउ आयात भएको तथ्यांक छ । गौरीफन्टा नाका भएर ५१ लाख ३२ हजार मूल्य बढीको सुन्तला आयात भएको छ । कुनै बेला खाद्यान्नमा आत्मनिर्भर हुनुका सार्थ बाह्य मुलुकलाई निर्यात गर्ने अवस्थामा रहेको सुदूरपश्चिम पछिल्ला वर्षहरूमा बर्सेनि ठूलो परिमाण र मूल्यको खाद्यान्न आयात गर्ने अवस्था चिन्ताजनक रहेको यस क्षेत्रका जानकारहरुले बताएका छन् । तर यी कार्यक्रमहरूबाट उपलब्धि भने अपेक्षित नभएको कतिपयको बुझाइ छ । प्राकृतिक प्रकोपबाट विभिन्न समयमा उत्पन्न हुने संकटबाट उत्पादकत्वमा भइरहने ह्रास, समयमै मल बीउ नपाउने समस्या, खेतीयोग्य जमीन घडेरीमा विस्तार भइरहनु तथा बिचौलियाका कारण स्थानीय उत्पादनले बजार मूल्य नपाउनुलगायत कारणहरूले कृषि क्षेत्रमा अपेक्षित उपलब्धि नभएको कैलालीका नागरिक अगुवा खड्कराज जोशीले बताए ।