कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा २३ सय १४ बाह्रसिंगा रहेको तथ्यांक सार्वजनिक गरिएको छ। शुक्लाफाँटा निकुञ्ज कार्यालयका अनुसार २ सय ६२ वयस्क, ८ सय ५८ वयस्क पोथी, ४३ अर्ध वयस्क भाले, १ सय ५२ अर्ध वयस्क पोथी, १ सय ६४ पाठापाठी र लिंग पहिचान हुन नसकेका ८ सय ३५ बाह्रसिंगा छन्। गत वर्षको गणनामा २२ सय ४६ बाह्रसिंगा थिए ।
२०१४ यता निकुञ्जमा बाह्रसिंगाको संख्या २३ सयकै हाराहारी छ । त्यतिबेला गरिएको गणनामा २३ सय १ बाह्रसिंगा थिए । त्यसयता २२ सयदेखि २३ सयकै हाराहारीमा बाह्रसिंगा भेटिएको निकुञ्ज कार्यालयले जनाएको छ । वैशाख १ देखि ७ सम्म वन्यजन्तु सप्ताहका अवसर पारी टाउको गणना विधिबाट बाह्रसिंगाको गणना तथा अनुगमन गरिएको हो । बाह्रसिंगा पाइने स्थानमा निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकहरूले टेलस्कोप, बाइनोकुलर र क्यामेराको सहायताबाट गणना गरेका थिए ।
‘अहिले देखिएको संख्या राम्रै हो,’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले भने, ‘दुई हजारदेखि अढाई हजारसम्मको पपुलेसन राम्रो मान्न सकिन्छ ।’ उनका अनुसार केही वर्षयता शुक्लाफाँटा घासे मैदानसँगै निकुञ्जको अन्य क्षेत्रमा पनि बाह्रसिंगा देखिन थालेको छ । तर फाटफुट रूपमा अन्य क्षेत्रमा गए पनि बासस्थान भने शुक्लाफाँटा घाँसे मैदान नै हो ।‘चौधर नदीपारि लालपानी र अन्य क्षेत्रमा पनि बाह्रसिंगा देखिएको छ,’ ऐरले भने, ‘यस वर्ष पहिलो पटक उक्त क्षेत्रमा पनि गणना गरिएको हो ।’ यसअघि निकुञ्जको विशाल घाँसे मैदानमा मात्रै बाह्रसिंगाको गणना गरिदै आएको थियो । घासे मैदान व्यवस्थापन गर्न सके बाह्रसिंगाको संख्या थप बढाउन सकिने उनले बताए ।
३०५ वर्गकिलोमिटर क्षेत्रफलमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विशाल घाँसे मैदान ५४ वर्गकिलोमिटरमा छ । यसको नाम शुक्लाफाँटा घाँसे मैदान हो । यही विशाल घाँसे मैदान बाह्रसिंगाको प्रमुख बासस्थान हो । यहाँ हजारौंको झुन्डमा बाह्रसिंगा देख्न सकिन्छ । घाँसे मैदानमा बनेका ठुल्ठूला मचानबाट ठूलो झुन्डमा बाह्रसिंगा चरिरहेको दृश्य लोभलाग्दो देखिन्छ । बाह्रसिंगा बाघको प्रमुख आहारा पनि हो । पछिल्लो गणनाअनुसार यहाँ बयस्क बाघको संख्या ३६ पुगेको छ । निकुञ्ज कार्यालयले १६ पोथी र १२ भाले तथा अकुपेन्सी सर्भेका आधारमा ८ बाघ रहेको तथ्यांक सार्वजनिक गरेको हो । अघिल्लो गणनामा यहाँ १८ वयस्क बाघ छन् । पर्याप्त आहारा प्रजाति र बासस्थानको व्यवस्थापनकै कारण यहाँ बाघको संख्या वृद्धि भएको हो । बाह्रसिंगासँगै चित्तल, लघुना, जरायोलगायत वन्यजन्तु बाघका प्रमुख आहारा हुन् ।कान्तीपुरबाट