धनगढी : कैलाली क्षेत्र नम्बर १ मा नेपाली काग्रेंसका केन्द्रिय सदस्य तथा पुर्ब मन्त्री रामजनम चौधरी चिर्वाचन लड्ने तयारीमा छन् । नागरिक उन्मुक्ती पार्टीबाट अध्यक्ष तथा रेशम चौधरीकी पत्नी रञ्जिता श्रेस्ठले उमेदवारी घोषणा गरिसकेकी छिन् । गठबन्धनबाट रामजनम चुनाव लडे रञ्जिता र रामजनमबिच प्रतिस्प्रधा हुने देखिएको छ ।
२०४८ सालपछि अनवरत संसद् भवन भित्र छिर्ने भाग्यमानी नेतामध्येका एक हुन् रामजनम चौधरी । उनले २०४८, २०५१ र ०५६ सालमा कैलाली क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य निर्वाचन जिते । २०६४ सालमा भने उनी विजय गच्छदारको पार्टीमा प्रवेश गरेर समानुपातिकतर्फबाट सभासद् चुनिएका थिए ।
२०७० सालमा दोस्रो संविधानसभाको चुनावमा उनी कैलाली क्षेत्र नम्बर ३ बाट निर्वाचित भए ।
उनी २०७४ को निर्वाचनमा भने पहिलोपटक पराजित भए । कैलाली क्षेत्र नम्बर ३ बाट माओवादीका गौरीशंकर चौधरीसँग ४ हजार ३८५ मतले पराजित भएका उनी २० हजार ४९४ मतमा सीमित भए । ०७४ को निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट रेशम चौधरीले ३४ हजार ३४१ मत ल्याएर जित हासिल गरेका थिए ।
२०७४ को निर्वाचनमा एमाले र माओवादीको गठबन्धनका कारण चुनाव हारेको बताउने रामजनम कैलाली क्षेत्र नं.१ मा उम्मेदवार बन्ने दाबी गर्दछन् । रेशम चौधरीकै दलको गढ मानिएको क्षेत्रमा चुनाव लड्ने घोषणा गरेका उनी स्थानीय तह निर्वाचनमा मतदातालाई ‘इमोस्नल ब्ल्याकमेलिङ’ गरेर रेशमको दलले चुनाव जितेको आरोप लगाए ।
उनले भने, ‘जनतामाझ इमोस्नल ब्ल्याकमेल गरिएको छ । रेशमलाई रिहा गराउने भनेर भोट मागिएको छ । त्यसलाई नै चिरफार गरेर चुनावमा जान्छु ।’ उनले टीकापुर घटनाका बन्दीलाई रिहा गराउन केही कानुनी अड्चन रहेको भन्दै तिनलाई संशोधन गर्न पहल भइरहेको बताउँछन् ।
स्थानीय तहमा कैलाली क्षेत्र नम्बर १ अन्तर्गतको पालिकाहरूमा रेशम चौधरीको दल नागरिक उन्मुक्ति पार्टीले जित हासिल गरे पनि सो क्षेत्रमा सत्तारुढ गठबन्धनको मत उल्लेख्य देखिन्छ । स्थानीय तह निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष÷प्रमुखका उम्मेदवारहरुले १७ हजार १९३ मत प्राप्त गर्दा सत्तारुढ गठबन्धनबाट कांग्रेसको ११ हजार ६७८, माओवादी केन्द्रको ६ हजार ९३०, जसपाको २ हजार ३०२ र नेकपा एकीकृत समाजवादीको २ हजार ३३२ मत छ । यस हिसाबले सो क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीको तुलनामा सत्तारुढ गठबन्धन ५ हजार ९४९ मतले अगाडि देखिन्छ ।
स्थानिय तहमा गठबन्धन र नागरिक उन्मुक्तीले पाएको मत हेर्दा रोचक प्रतिस्प्रधा हुने देखिएको छ ।