धनगढी : धनगढी उप महानगरपालिकामा प्लाष्टिकजन्य र सुर्तिजन्य पदार्थ बिक्रि वितरणमा रोक लगाइने भएको छ । धनगढी उप महानगरपालिका कार्यपालिकाको भदौ १ गते बसेको बैठकले उप महानगरभित्र सुर्तिजन्य पदार्थ र प्लाष्टिकजन्य वस्तु बिक्रि वितरणमा रोक लगाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले जानकारी दिए ।
चालु आर्थिक वर्ष २०७९÷८० लाई सरसफाई वर्षका रुपमा मनाउने उद्देश्यले बजार क्षेत्रमा समस्याका रुपमा देखिएको सुर्तिजन्य पदार्थ र प्लाष्टिकजन्य वस्तु भएकाले बिक्रि वितरणमा निषेध गर्ने निर्णय गरिएको हो । अगामी असोज १ गतेदेखि बिक्रि वितरणमा रोक लगाइएको उप महानगरले जनाएको छ ।
साथै कार्यपालिका बैठकले सार्वजनिक क्षेत्र सडक, खोलानाला र नालीमा फोहर नफाल्न तथा सडक पेटीमा निर्माण सामाग्री, ठेला, पसल नराख्न तथा जथाभावी पशुचौपाया नबाध्न पनि आग्रह गरेको छ ।
निषेध गरिएको क्षेत्र तथा जथाभावी खोलानालामा ढल मिसाउनेलाई प्रथम पटकलाई १० हजार रुपैयाँ जरिवाना र दोस्रो पटक संरचना भत्काइने उपमहानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
यस्तै अन्य फोहर फाल्नेहरुलाई पहिलो पटक १०००, दोस्रो पटक ३००० र तेस्रो पटक ५००० रुपैयाँसम्म जरिवाना गरिने उपमहानगरपालिकाले जनाएको छ ।