कन्चनपुर। भीमदत्त नगरपालिका मेयर पदम बोगटीको ‘हनिमुन पिरियड’ सकिएको छ । तिन महिना अघि २०७९ जेठ ९ गते भिमदत्तको नगर प्रमुख पदमा शपथ लिदै भिमदत्तका नगरप्रमुख पदम बोगटीले सरकारी गाडी नचढ्ने घोषणा गरे तर आफुले घोषणा गरेको बाचाबाट नगर प्रमुख पछाडी हटेको पाइएको छ । उनले आफुले आफ्नो निजि गाडीको प्रयोग गर्ने घोषणा गरेपनि सरकारी गाडी समेत चढिरहेको पाईएको छ ।
उनले पहिलेका नगर प्रमुख सुरेन्द्र बिष्टले चढ्ने गाडी उप–प्रमुखलाई दिएर आफुले पहिलेका उप–प्रमुखले चढ्ने गरेको गाडी प्रयोग गरिरहेको नगरपालिका स्रोतले जनाएको छ । ‘अक्सर पहिलेका उपमेयरले चढ्ने गाडी चढ्नुहुन्छ, पहिलेका मेयरले चढ्ने गाडी पनि चढिराख्नुभएकै छ ।’ नगरपालिकाका एक कर्मचारीले भने । नगरपालिकाको गाडी नचढ्ने भनेर घोषणा गरेका नगर प्रमुख बोगटीले यसअघि काँग्रसबाटै निर्वाचित शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिल बहादुर ऐरले शुरुवातमा घरबाटै काठको कुर्सी ल्याएर नगरपलिकामा बसेजस्तो सस्तो लोकप्रियता कमाउन खोजेको तर नसकेको बाहेक केही देखिदैन ।
निर्वाचित हुँदा भावनामा बगेर घोषणा गर्ने र पछि कार्यान्वयन गर्न नसकेर बदनाम कमाउनेमा पहिलो स्थानिय तह निर्वाचनको कार्यकालमा काँग्रेसबाट निर्वाचित शुक्लाफाँटाका नगरप्रमुख ऐर थिए भने यस पटक चार महिना नबित्दै भिमदत्तका नगरप्रमुख बोगटी चर्चामा देखिएका छन् । यससंगै उनले आफ्नो निजि गाडी चलाउने चालकलाई नियम बिपरित भिमदत्त नगरपालिकाबाट तलबभत्ता खुवाउने गरेको पाईएको छ । उनका नीजि सवारी चालक भएर काम गरिरहेका बसन्त विष्टलाई नगरपालिकामै ज्यालादारीमा राखिएको छ ।
यो अवधिमा उनको नेतृत्वको भीमदत्त सरकारले ३ जनालाई ज्यालादारीमा नियुक्त गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयले त्यसबारे चासो राख्दै नगरपालिकालाई पत्र काटेको छ । बिष्ट लगायत ३ जनालाई जेठ १० गते नगरपालिकाले काम गर्न कार्यादेश दिएको हो । उनीहरुले असार मसान्तसम्मको सुविधा समेत बुझि सकेका छन् । जिल्ला दररेट अनुसार चालकले दैनिक ९ सय रुपैयाँ ज्याला पाउँछ । मेयरको सहयोगीको रुपमा ज्यालादारीमै उत्तर कुँवरलाई राखिएको छ भने उपमेयर निलम जोशीको सहयोगीको रुपमा कमला साउँदलाई राखेको छ ।
मेयरको सहजताका लागि नगरपालिका कार्यालयले नासु नरेन्द्रदेव भट्टलाई खटाएको छ भने उपमेयरको सहजताका लागि खरिदार लक्ष्मण भट्टलाई खटाएको छ । उपमेयरकै कार्यकक्षमा काम गर्छिन् पावर्ती सिंह, उनलाई यसअघिकी उपमेयर शुशिला चन्द सिंहकै पालामा ज्यालादारीमा राखिएको थियो । ‘नगरपालिकामा प्रयाप्त कर्मचारी छन्, ज्यालादारीको नाममा पार्टीका कार्यकर्ता राखिएका छन्, नगरपालिकाका एक कर्मचारीले भने, ‘यसअघि नै तीन जना चालक कार्यरत छन्, करारमा एक, स्थायी दुई जना छन्, उनीहरु मेयर, उपमेयर र सहरी विकासको गाडी चलाउथे, नयाँ मेयर सापले नीजि चालकलाई ज्यालादारीमा राखेका छन्’ ।
नगरपालिकाले ज्यालादारीमा कर्मचारी भर्ना गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरमा समेत उजुरी परेको छ । अख्तियारले नगरपालिकाको नाममा पत्र काटेर कर्मचारीको विवरण माग गर्दै कुन प्रक्रियाबाट राखिएका हुन भनेर सोधेको छ । भीमदत्त नगरपालिकाले ज्यालादारीमा कर्मचारी राखेको विषयमा उजुरी परेपछि त्यससँग सम्बन्धित विवरण नगरपालिकासँग माग गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका सूचना अधिकारी नारायण प्रसाद ढकालले बताए । साउन ३० गते पत्र पठाएको उनले बताए । ‘कर्मचारी दरबन्दीको विवरणलगायत ज्यालादारीमा कर्मचारी राख्दा गरिएका नीतिगत निर्णयहरु माग गरेका छौं,’ उनले भने, ‘त्यसको जवाफ नगरपालिकाले पठाएको छैन ।’
महिला जनप्रतिनिधिलाई पोसाक
यस बिचमा नगरपलिकाले हचुवाको भरमा सरकारी बजेटमा महिला जनप्रतिनिधिलाई पोसाक उपलब्ध गराईरहेको सुचना बाहिरीएपछि नगरप्रमुख बोगटी र उपप्रमुख निलम लेखकले आफुहरुले व्यक्तिगत रुपमा पोसाकको रकम भुक्तानि गर्ने भन्दै धटनाको ढाकछोप गर्ने प्रयास गरिएको थियो ।‘न त त्यो उनिहरुले तिर्ने नियतले नै सिलाईएको हो न अब तिर्नेछन्, कहिँ कतैबाट हामीलाई नै मिलाउन दवाव आउँछ ।’ नगरपालिकाका एक कर्मचारीले भने । उनले थपे, ‘तिर्ने नगरपलिकाकै बजेटबाट हो, शिर्षक मिलाउन दवाव आउला, अहिले मिडीयालाई शान्त पार्न आफै तिर्न भनेका
हुन् ।’
गाडी नचढ्ने भनेपछि गरिएको थियो चौतर्फी स्वागत
नव निर्वाचित नगर प्रमुख बोगटीले नगरपलिकाको गाडी नचढ्ने भएपछि चौतर्फी स्वागत गरिएको थियो । तर विडम्वना उनि आफ्नो निर्णयमा अडिक रहन सकेनन् । उनको उक्त कुराको पत्रकार, मानव अधिकारकर्मी तथा समाजका अगुवाले खुलेरै सामाजिक सञ्जालमार्फ स्वागत गरेका थिए ।त्यसमध्ये एक हुन् पत्रकार खेम भण्डारी, न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष समेत रहिसकेका प्रतिष्ठत पत्रकार खेम भण्डारीले नगर प्रमुखको निर्णयप्रति गर्व गर्दै वाह पदम दाई भन्दै प्रशंसा गरेर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।उनि भिमदत्त नगरपालिकाको गतिविधिलाई नजिकबाट नियाल्दै सामाजिक सञ्जालदेखि मिडियामार्फत जनतालाई सजक गराउने व्यक्तिमध्ये पर्दछन् । यस्तै थुप्रै समाजसेवी नागरिक समाज र जनताले त्यस कदमको स्वागत गरेका थिए । पश्चिमनेपाल न्यूजबाट/पवन जोशी