बैतडी। बैतडीमा भेटिएको शंकास्पद वस्तु सेनाको टोलीद्वारा डिस्पोज गरिएको छ। बैतडीको सुर्नया गाउँपालिका–३ स्थित सिन्केलेक नजिक मंगलबार दिउँसो शंकास्पद वस्तु फेला परेको थियो। हनुमानध्वज गुल्मका गुल्मपती सेनानी गोविन्द थापाले सतबाँझ–गोकुलेश्वर सडक छेउमा राखिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको बताए।
ब्याट्रीमा तार जोडेर राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको र त्यसलाई सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेपनि बम हो कि होइन भन्ने कुरा अझै एकीन हुन बाँकी छ उनले भने। बम डिस्पोजल टोलीले शंकास्पद वस्तु डिस्पोज गरेको हो। यसअघि मंगलबार बिहान दशरथचन्द राजमार्गको सतबाँझको भण्डारी आयलस्टोर नजिकै सडक किनारमा प्रेसर कुकरमा तार बेरिएको अवस्थामा र महाकाली राजमार्गको सतबाँझ–गोकुलेश्वर सडकखण्ड सुर्नया गेट नजिक रातो कपडामा बेरेको अवस्थामा शंकास्पद वस्तु भेटिएकोमा डिस्पोज गरिएको थियो। ती डिस्पोज गरिएका शंकास्पद वस्तु बम नरहेको सेनाले जनाएको छ ।विप्लव नेतृत्वको नेकपा सहितका चार राजनीतिक दलले आज नेपाल बन्द आह्वान गरेकाले उनीहरुले नै सडकमा शंकास्पद वस्तु राखेको हुनसक्ने अनुमान गरिएको छ ।