डोटी। डोटीको दिपायलमा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका दुई नेता पक्राउ परेका छन्। आज बिहान दिपायल बजार बन्द गराउँदै हिँडेका दुई नेता पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्ला सचिवालय सदस्य मोहन कठायत र प्रकाश कठायतलाई पक्राउ गरिएको नेकपाका डोटी जिल्ला सेक्रेटरी विमल धामीले बताए।
उनले बिना कारण उनीहरुलाई पक्राउ गरिएको बताउँदै बन्दको पूर्व घोषित कार्यक्रम रहेको र गिरफ्तार गरिएका दुवैको तत्काल रिहाइ गरिनुपर्ने भने । सरकारसँग भएको ३ बुँदै सम्झौताअनुसार आफ्नो पार्टीका नेता/कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता, थुनाबाट मुक्त गर्नुपर्ने माग अगाडि सार्दै विप्लव नेतृत्वको नेकपाले आज देशव्यापी बन्दको घोषणा गरेको छ।